भावी प्रधानमन्त्री भनेर प्रचार गर्दा अन्तर्घातको जोखिममा गगन, तीन जिल्लाका मतदाता निर्णायक
काठमाडौं : २०७४ को प्रतिनिधि सभा निर्वाचनको परिणाम हेर्ने हो भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा प्रतिष्पर्धाहिन अवस्थामा छन्। गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरेको एमालेबाट उम्मेदवार बनेर पराजित भएकै राजन भट्टराई २०७९ को निर्वाचनमा पनि प्रतिस्पर्धी छन् उनको।
एक्लै पराजित गरेका थापा यो पटक गठबन्धनको साझा उम्मेदवार बनेका छन्। बलियो स्वतन्त्र उम्मेदवार छैनन्। न त विद्रोही नै। तर सोचेजस्तो सहज भने छैन यो निर्वाचन उनका लागि।
निर्वाचनमा थापा र भट्टराइसँगै यस क्षेत्रबाट १४ जना स्वतन्त्र गरेर जम्मा ३१ जनाको उम्मेदवारी परेको छ। तर, थापा र भट्टराई नै यस पटकको पनि मुख्य प्रतिस्पर्धी हुन्।
कांग्रेसबाट गगन र एमालेबाट राजन एकल सिफारिसमा परेर टिकट पाउन सफल भएका नेता हुन्। गत निर्वाचनमा भट्टराई ३ हजार ४ सय १८ मतान्तरले पराजित भएका थिए।
पहिल्यै भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अगाडि सारेका गगनका लागि उनकै पार्टीभित्रबाट हुनसक्ने अन्तर्घात नै सबैभन्दा ठुलो जोखिम हो यो निर्वाचनमा।
किनकि जब जब कांग्रेसका कुनै नेताले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याउँदै काठमाडौँमा उम्मेदवार बन्छन् आफ्नै पार्टीको घातको सिकार बन्छन्।
चुनावी अजेण्डा मात्र नभई उनी तेस्रो पटक काठमाडौँ-४ बाट सांसद बनेमा प्रधानमन्त्रीको बलियो दाबेदार हुने पक्का भएमा कृष्णप्रसाद भट्टराइले बेहोरिसकेको अन्तर्घात गगनले बेहोर्दैनन् भन्न सकिने अवस्था छैन।
त्यसको प्रयास उनलाई काठमाडौँ-४ को साटो मधेस पठाउनेबाट प्रयास भइसकेको छ। तर सांसद हुनु प्रधानमन्त्रीको दावेदारीमा पहिलो पाइला मात्रै हो।
पार्टीको संसदीय दलको निर्वाचनमा संसदीय दलको नेता नचुनिएसम्म प्रधानमन्त्री बन्न सम्भव छैन। त्यसका लागि प्रत्यक्ष र समानुपातिक दुबैतिर गगनले प्रतिनिधित्व गर्ने शेखर कोइराला समूहको बहुमत आवश्यक पर्छ।
टिकट वितरणको सङ्ख्याबाट यो सम्भव देखिएको छैन। गगनलाई प्रधानमन्त्रीको यात्रामा अगाडि बढ्न देउवा समूहले आफूले छाडेर आफ्नो समूहबाट अर्को व्यक्ति अगाडि बढाउनुपर्ने देखिन्छ। जुन अप्रत्याशित नतिजा बाहेकको अवस्थामा सम्भव देखिएको छैन।
स्थानीय तहमा एमालेको पकड
काठमाडौँ-४ भित्रको स्थानीय तहको मत परिणामले भने राजन त्यति कमजोर उम्मेदवार देखाउँदैन। काठमाडौँ महानगरका वडातर्फ कांग्रेस बलियो छ। महानगरका वडा नं. १, ७, ८, ३० मध्ये वडा नं ७, ८, ३० मा मात्र कांग्रेसका वडा अध्यक्ष निर्वाचित भए।
बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुखदेखि लिएर यस क्षेत्रमा पर्ने सबै वडा १, २, ८, ९, १०, ११, १२, १३ मा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन्। स्थानीय तहको मत अनुसार यसमा भट्टराई बलियो देखिन्छन्।
स्थानीय तहमा उम्मेदवारहरूले पाएको मत अनुसार यस क्षेत्रमा रहेका वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९ सय ८१, कांग्रेसले पाएको कुल मत १६ हजार ८४, एकीकृत समाजवादीले पाएको मत २ हजार ६ सय ८८ र माओवादी केन्द्रको कुल मत ८ सय ७३ छ।
यस प्रदेशको एउटा क्षेत्र एकीकृत समाजवादीलाई छुट्टाइएकोले त्यहाँको मत थापालाई थपिन सक्छ। तर कांग्रेसले गत निर्वाचनमा प्रदेशमा जितेका नरोत्तम वैद्यलाई टिकट नदिँदा त्यसको असर थापालाई पर्न सक्छ।
स्थानीय तहमा स्वतन्त्रको लोभलाग्दो माहौल देखेर यस क्षेत्रका केही मत बाढिनसक्ने देखिन्छ। महानगर प्रमुख बालेन्द्र शाहले यस क्षेत्रमा तेस्रो मत पाएका थिए। यहाँ उठेका स्वतन्त्र उम्मेदवारहरू त्यति परिचित छैनन्। तै पनि केही मत भने बाँडिन सक्छ।
थापा र भट्टराईको आ–आफ्नै छवि
अघिल्लो चुनावको समयमा कांग्रेसको केन्द्रीय सदस्यको रूपमा रहेका थापा यस पटक पार्टीको कार्यकारी पद महामन्त्री बनिसकेका छन्। संसदीय समितिको सभापति र मन्त्री बनिसकेका उनले स्वास्थ्यमन्त्रीको रूपमा राम्रो छवि बनाउन सफल भएका थिए।
पार्टीमा आफ्नो भूमिका बढाउँदै गएका उनीसँग दुईपल्ट संविधानसभामा रहेको सहित तीन पटक सांसद बनेको अनुभव छ।
राम्रो वक्ता, राष्ट्रिय राजनीतिमा बनाएको छवि, युवा पुस्तामा लोकप्रिय र स्वास्थ्यमन्त्री हुँदा गरेका केही निर्णयले नै थापा भट्टराइमाथि हाबी देखिन्छन्।
तर, पछिल्लो समय आफ्नो क्षेत्रमा कम ध्यान दिएको आरोप लाग्ने गरेको छ थापालाई। कपनको बाढी समस्यामा सबभन्दा धेरै गाली आफूले खाने गरेको त उनी स्वयम्ले स्विकारेको नै विषय हो।
कपनदेखि गोपीकृष्ण, मिलनचोक, भृकुटीचोक, तेन्जिङचोकलगायतको क्षेत्र हरेक वर्ष डुब्ने गरेको छ। यहाँको स्थानीयहरू कपनको अव्यवस्थित सडकले गर्दा पनि जब जब सडकमा पानीको भेल बग्छ तब तब थापाको आलोचना हुन्छ।
आफ्नो बौद्धिक छवि र समानुपातिकबाटै भए पनि संविधान सभा सदस्य रहिसकेका भट्टराई नै थापाको बलिया प्रतिद्वन्द्वी हुन्। बाम गठबन्धन, बौद्धिक व्यक्तित्वको छविलाई उनको बलियो आधार मानिन्छ। तुलनात्मक रूपमा उनीसँग प्रत्यक्ष चुनावी राजनीतिमा थापाको भन्दा कम अनुभव छ।
भट्टराईसँग पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार भएको अनुभव छ। एमालेमा ओलीको उदयसँगै पार्टीको केन्द्रीय सदस्य र संविधानसभाको सदस्य बने। प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा विकासका कार्यमा उनको पनि ठुलो भूमिका रहेको एमाले पक्षले दाबी गर्ने गर्छ। उनी एमालेको विदेश विभाग प्रमुख समेत हुन्।
पार्टीको गुटगत राजनीतिमा रमाउने भट्टराई स्थानीय मतदातामाझ त्यति परिचित हैनन्। गत निर्वाचनपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा विरलै देखिएका थिए। पार्टी राजनीतिमा पनि उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको जायज-नाजायज सबै निर्णयको पक्षमा उभिने गरेका छन्।
क्षेत्र नं ४ मा कसले मार्ला बाजी !
स्थानीय तह निर्वाचनको मत परिणामले हेर्यो भने यो क्षेत्रको पहिलो स्थानमा एमाले छ। तर, पछिल्लो समय भएका संविधान सभाका दुई निर्वाचनमा कांग्रेसले जीत हासिल गरेको थियो।
यस पटक पनि पुरानै खेलाडी बिच प्रतिस्पर्धा हुनलागेकाले यी दुवै प्रतिष्पर्धीबीच नै हारजितको टुङ्गो लाग्ने पक्का छ।
’क्षेत्र नं ४ भनेकै गगनको क्षेत्र’ हो भनेर कांग्रेस पक्षले भनिरहँदा यसै क्षेत्रबाट तीन पटक सांसद भए पनि यी १५ वर्षमा यस क्षेत्रमा त्यस्तो उल्लेख्य काम केके भए? भन्ने प्रश्न एमाले पक्षले गरिनै रहेको छ।
कपन बाढी र सडक यस पटकको पनि मुख्य चुनावी मुद्दा बनिरहेको छ। सांसद र मन्त्री भएर समेत केही नगरेको आरोप थापामाथि लागिरहेकै छ।
अर्कोतिर समानुपातिककै भए पनि सांसद भएको र केही गर्न नसकेको भट्टराईलाई पनि आरोप लाग्ने गरेको छ। निर्वाचनको दिनसम्म कपन क्षेत्र कता मोडिने हो त्यसले चुनावको परिणाम निर्धारण गर्नेछ।
एमालेका उम्मेदवार राजनको कम प्रभाव रहेको चाबहिल, गौरीघाट, चुच्चेपाटी, मित्रपार्क अनि पशुपति क्षेत्र यस पटक गगनको निर्णायक क्षेत्र हुन्।
यी क्षेत्र यस अगाडि नरोत्तम वैद्यले समेत व्यवस्थापन गरेका थिए। तर यस पटक उनले प्रदेशको टिकट पाउन सकेनन्। पार्टी आन्तरिक राजनीतिमा क्षेत्र नम्बर ४ मा प्रकाशमान सिंहको समेत प्रभाव क्षेत्र मानिन्छ। उनले गगनको विषयमा कस्तो भूमिका निर्वाह गर्छन् त्यसले पनि गगनको भावी संसदीय यात्रा सहज या कठिन भन्ने देखाउने छ नै।
क्षेत्र नम्बर ४ मा यहाँका रैथानेसँगै सिन्धुपाल्चोक, नुवाकोट र ओखलढुङ्गाबाट बसाइ सरेकाहरूको पनि बलियो मत छ। ती जिल्लाको समर्थन यस अगाडि गगनको पक्षमा जाने गरेको थियो। यस पटक ती मत लैजान भट्टराईले राम्रै मिहेनत गरेको देखिन्छ।
ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।
असोज ३१, २०७९ सोमबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।