५५ वर्षदेखि बाकसमा अत्तर र गाजलको पसल थापेर हिँडिरहेका जब्बर अन्सारी, जसको क्रेज मैतिदेवी मन्दिरअगाडि देखिन्छ
अग्लो हृष्टपुष्ट शरीर। मसिनो जुँगा अनि झपक्कै सेतो दारी। उनी हरेक साँझ मैतिदेवी मन्दिर परिसरमा आफ्नो अत्तरको सुगन्ध फैलाउँछन्। अनि दर्शनार्थीहरूको आँखामा गाजल लगाइदिएर शितल अनुभूति गराउँछन्।
उनी हुन् ६४ वर्षीय जब्बर अन्सारी।
जब्बर बिहान उठेदेखि दिनभरि एउटा सानो बाकसमा विभिन्न प्रकारको अत्तर, गाजल र सुरमा बोकेर काठमाडौंका विभिन्न गल्ली डुलिरहन्छन्। साँझ परेपछि चाहिँ मैतिदेवी मन्दिर पुगिहाल्छन्। हरेक दिन साँझ ६ बजेदेखि राति ९ बजेसम्म मैतिदेवीमा उनको ड्युटी हुन्छ।
काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो- मैतिदेवी मन्दिर। यहाँ हरेक दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ। साँझ पर्नु मात्र पर्छ, मन्दिर दर्शन गर्न आउनेहरू जत्तिकै भीड जब्बरको पसलमा पनि लाग्छ।
बच्चादेखि वृद्धसम्मै ग्राहक
बच्चादेखि वृद्धसम्म उनको पसलका नियमित ग्राहक हुन्। गाजल लगाउने, अत्तरको सुगन्धमा एकछिन रुमल्लिने अनि ऐना हेरेर फर्किने गर्छन् उनका ग्राहकहरू।
तीन वर्ष भयो, जब्बरले मैतिदेवीमा यसरी पसल थापेको।
उनीसँग सयभन्दा बढी प्रकारका अत्तर छन्। वासनादारदेखि माइग्रेन र पिनासको औषधीसम्म उनले राखेका छन्।
उनीसँग भएका सबै अत्तरहरू दुबईबाट आउने गरेको उनले बताए। 'जन्नतुल फिरदौस' र 'मज्मुवा' जस्ता अत्तर पनि उनले राखेका छन्।
इस्लाम धर्मका अनुसार जन्नको अर्थ बगैँचा, र फिरदौसको अर्थ स्वर्ग हुन्छ। जसअनुसार 'जन्नतुल फिरदौस' भनेको स्वर्गको बाटो हुँदै आफ्नो पैगम्बर मुहम्मद(देवता) सम्म पुग्ने बगैँचा हो। त्यो अत्तर लगाएमा स्वर्ग पुगेको जत्तिकै आनन्द हुने जब्बर बताउँछन्।
त्यसैगरी 'मज्मुवा' अत्तर भनेको 'एल्कोहल' रहित अत्तर हो।
'आफूलाई मनपर्ने सुगन्धअनुसार लान्छन्। प्रायः राम्रो हुने भनेको त 'सफ्ट' नै हो। कतिलाई धूप बत्ति बाल्दा पनि टाउको दुख्ने हुन्छ, उनीहरूले त्यस्तो लाग्छन्', उनले सुनाए, 'कसैलाई चाहिँ कडा मनपर्छ। उनीहरूले पहिला देखि नै कडा वासनावाला लगाउँदै आएको हुन्छन्।'
शितल हुन थालेको भन्दै ग्राहकहरू २/३ बट्टा गाजल बोकेर जान्छन्। सानो सानो बट्टामा रहेको उनको हरेक सामानको मूल्य सय रुपैयाँ हो। उनी भन्छन्, 'त्यसमा पनि घटाइदिनु, महँगो भयो भन्छन्।'
उनले राखेको अत्तरहरूमध्ये सबैभन्दा सफ्ट भनेको चन्दनको हो।
मन्दिरमा आफ्नो ग्राहक बढ्दा पाएको खुशी
इस्लाम धर्मावलम्बी जब्बरले मन्दिरअगाडी पसल राख्दा पाएको प्रतिक्रियाले उनी त दङ्गै छन्।
कुनै कुनै ग्राहक त अहिले मैतिदेवी मन्दिर पनि गाजल लगाउनकै लागि मात्र आउन थालेको उनी सुनाउँछन्। उनले गाजल भने भारतको नागाल्याण्डबाट ल्याउने गर्छन्।
'कसैले राम्रो गाजल बनायो भने बाहिर बेच्न पाउँदैन सबै नागाल्याण्डले लिन्छ। अनि त्यहाँबाट बाहिर बाहिर सप्लाई हुन्छ', उनले आपूर्तिको चेनबारे बताउँदै भने, 'अहिले मोबाइलको स्क्रिन हेरेर प्रायः धेरैले आँखा बिगारेका छन्। त्यही भएर यो गाजल लगाउँदा शितल हुन्छ।'
आफू नजिक भएकाहरूलाई गाजल लगाइदिन तम्सिहाल्छन् उनी। पहिलो पटक उनी जसलाई पनि सित्तैमा गाजल लगाइदिन्छन्। गाजल लगाएपछि त्यसको पिरोले आँखा पोल्न थाल्छ। त्यतिञ्जेल उनी आफ्नो सामानको बयान गर्छन्। अनि आँसु आएकाहरूको आँसु पनि पुछिदिन्छन्।
त्यसपछि शितल हुन थालेको भन्दै ग्राहकहरू २/३ बट्टा गाजल बोकेर जान्छन्। सानो सानो बट्टामा रहेको उनको हरेक सामानको मूल्य सय रुपैयाँ हो। उनी भन्छन्, 'त्यसमा पनि घटाइदिनु, महँगो भयो भन्छन्।'
महोत्तरीदेखि भारतसम्म
महोत्तरीमा जन्मिएका जब्बरको यो पुर्ख्यौली पेशा भने होइन।
'हाम्रो पुर्ख्यौली पेशा भनेको लुगा बनाउने हो। अन्सारी भनेको नै त्यही काम गर्ने हो', उनले भने। तर उनले भने सानैदेखि लुगाको काम गर्नु परेन।
घरमा सबैले कपडा बनाउने काम गरे पनि उनको दाइले भने अत्तरको काम गर्थे। सानैदेखि दाइसँग बढी मिल्थे पनि उनी। अनि दाइसँगै अत्तरको काम गर्न थाले।
उनले भने, 'दाइ त बित्नुभयो। म चाहिँ अहिलेसम्म गर्दैछु।'
उनले धेरै पढ्न पनि पाएनन्। उर्दूमै हाफिज पढे। 'पाँच कक्षा भन्दा हुन्छ। घरमा दिदी बहिनी पनि पाँच जना थिए। सबैको विहे गराउनुपर्ने भनेको कारण धेरै पढ्न पाइएन', उनले भने।
घरको जिम्मेवारी बढ्दै गएपछि उनी कामको लागि १६ वर्षमै भारत गए। त्यहाँ पनि अत्तर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काम गरे।
'नागाल्याण्ड, मणिपुर, शिलापथार, अरुणाञ्चल प्रदेश। त्यतैतिर बसेँ लामो समय', उनले एकै सासमा भने।
भारत बसेको केही वर्षपछि उनी गाउँ फर्किए। अनि विवाह गरे। 'हाम्रोमा मागी विवाह नै गर्नुपर्ने हुन्छ। त्यसैले मेरो पनि मागी विवाह नै भयो', उनले भने।
दुलही भारतबाट भित्र्याए। विवाह गरेको केही समयपछि भने उनी फेरि भारत नै गए।
विवाह गर्ने बित्तिकै बच्चा नजन्माएपछि...
विवाह गरेको पाँच वर्ष भइसक्दा पनि उनको सन्तान नभएको देखेर गाउँमा विभिन्न कुरा चल्न थाले।
उनले गम्भीर हुँदै भने, 'काठमाडौं जस्तो केही वर्ष रमाइलो गरेरै बस्ने भन्ने हुँदैन। त्यहाँ त बच्चा नभएको भनेर विभिन्न कुरा गर्न थाले। केही रोग छ कि! कसैमा केही कमजोरी छ कि! भनेर शंका समेत गर्न थाले।'
विहे भएको पाँच वर्षपछि भने उनीहरूको पहिलो सन्तान भयो। 'त्यसपछि त के भन्नु खै! हरेक वर्षको अन्तरमा आठ वटा बच्चा भयो', उनले हास्दै सुनाए।
केही बहिनीहरूको विवाह गर्न अझै बाँकी थियो। बुबाआमा पनि बुढो हुँदै गएका थिए। त्यसपछि भने उनले आफ्नो कर्मथलो भारत नबनाएर काठमाडौंलाई बनाए।
अत्तरको सुगन्धमा रमाउँदै हिँडेको ५५ वर्ष भए पनि उनले अहिलेसम्म पसल नै भनेर चाहिँ खोलेका छैनन्। उनको पसल भनेकै त्यही एउटा सानो बाकस हो। जसलाई बोकेर उनी हिँडिरहन्छन्।
'इस्लाम धर्ममा मरेको मान्छे बोकेपछि ठूलो धर्म हुन्छ। आमाबुबा बुढो हुँदै हुनुहुन्थ्यो। केही भयो भने नागाल्याण्ड, मणिपुरबाट घर पुग्न धेरै समय लाग्ने हुन्छ', भावुक भएर यहाँ आउनुको कारण सुनाउँदै उनले भने, 'केही गरी बुबाआमा बितिहाल्नुभयो भने यताबाट जान सजिलो हुन्छ भनेर आएको। त्यसपछि यताको यतै भएँ।'
उनले भारत र नेपाल दुवै देशको विभिन्न ठाउँमा लामो समय बिताए। तर, मुस्लिम धर्मावलम्बी भएकै कारण विभेद भने अनुभव गर्न नपरेको सुनाए।
'हाम्रो गाउँमा पनि सबै मुस्लिम समुदायकै मान्छे थिए। त्यसपछि त इण्डियाको पनि हिन्दूहरू कम हुने ठाउँमा नै काम पर्यो। साथीहरू अरू ठाउँमा जाँदा त धेरै पिटाइ खाएर आउँथे। मैले चाहिँ त्यस्तो विभेद भोग्नुपरेन', उनले आफ्नो अनुभव सुनाए, 'काठमाडौंको त झन् धेरै जसो मन्दिर नै गइराखेको हुन्छु। अहिले पनि मन्दिरमै छु। कसैले त्यस्तो विभेद गरेको छैन।'
५५ वर्षदेखि पसल बोक्दै हिँड्दै
कहिले नआएको काठमाडौं आउँदा उनलाई कता कता डर लागेछ। यता आफन्तहरू पनि कोही थिएनन्।
'दिन बित्त्दै गए पछि पैसा पनि कमाउदै गएँ। अनि सबै राम्रो हुँदै गयो। त्यो बेलामा कोठा पनि सजिलै पाइन्थ्यो।'
सुरुमा भीमसेनगोलामा बसे उनी। पछि ज्ञानेश्वर हुँदै अहिले मैतीदेवी मन्दिरपछाडि डेरामा बस्न थालेको ८ वर्षभन्दा बढी भइसकेको छ।
अत्तरको सुगन्धमा रमाउँदै हिँडेको ५५ वर्ष भए पनि उनले अहिलेसम्म पसल नै भनेर चाहिँ खोलेका छैनन्। उनको पसल भनेकै त्यही एउटा सानो बाकस हो। जसलाई बोकेर उनी हिँडिरहन्छन्।
अब बाँकी दुईटा छोरीको विहे गरिदिनुबाहेक उनको अरू केही इच्छा छैन। मुस्कुराउँदै उनले भने, 'अरू के नै गर्न सकिन्छ र! अब माथि जाने बेला भइसक्यो।'
अहिलेसम्म अर्डरको लागि पनि धेरै ठाउँमा आफ्नो ग्राहक बनाएर राखेका छन्। आफ्नो पसल नभए पनि विभिन्न पसलमा भने उनी सप्लाई गर्छन्।
कमाएको पैसा सबै विहे गरेरै सके
उनका दुई छोरा सानैमा बिते। अहिले एउटा छोरा नेपालगञ्ज र अर्को छोरा भारतमा छन्। 'दुई जना छोरीको विहे गर्दिसकेँ। अब दुई जना बाँकी छन्', उनले भने, 'के गर्नु कमाएको पैसा जति सबै विहे गरेर नै सकिन्छ। पहिला बहिनीहरूको गर्नुपर्यो। अहिले छोरीहरूको गर्दैछु।'
उनलाई सामान मगाउन नेपालमा भएका छोराले सहयोग गर्छन्। श्रीमती र बुहारी भने सबै गाउँमै छन्। 'कहिलेकाहीँ आउँछन्। सबै जना यता आएर पनि के गर्ने? उता घरको पनि काम त गर्नु नै पर्यो।'
अहिले यता एक्लै बस्ने भएकोले पनि उनलाई भ्याइनभ्याई हुन्छ। बिहान आफ्नो व्यक्तिगतदेखि अरू बाहिरको काम सबै भ्याउनुपर्ने हुन्छ।
अब बाँकी दुईटा छोरीको विहे गरिदिनुबाहेक उनको अरू केही इच्छा छैन। मुस्कुराउँदै उनले भने, 'अरू के नै गर्न सकिन्छ र! अब माथि जाने बेला भइसक्यो।'
असोज ३१, २०७९ सोमबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।