अवलोकनका लागि हैन, अध्ययनका लागि राखियो जोशीको मृत शरीर; तीन वर्षपछि परिवारलाई फिर्ता दिइने

अवलोकनका लागि हैन, अध्ययनका लागि राखियो जोशीको मृत शरीर; तीन वर्षपछि परिवारलाई फिर्ता दिइने

काठमाडौं : संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आइतबार विहान सात बजेर नौ मिनेट जाँदा अन्तिम श्वास फेरे।

मुटुको ससमस्याबाट पीडित जोशी असोज सात गते अस्पताल भर्ना भएका थिए। उनलाई निमोजिया भएको थियो। पछिल्लो पटक डेंगु संक्रमण समेत भएको थियो। उपचारकै क्रममा अस्पतालमा जोशीको आइतबार विहान निधन भयो।

जोशीको निधनपछि आइतबार मध्याह्न किष्ट अस्पतालमा केहीबेर श्रद्धान्जलीका लागि राखेर पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्राङ्गण पुर्याइयो। दिनभरजसो महानगर प्राङ्गणमा राख्दा सर्वसाधरणदेखि उच्च तहका व्यक्तिले जोशीलाई अन्तिम श्रद्धान्जली दिए। नेपाल प्रहरीको एक टुकडीको जोशीलाई अन्तिम सालमी समेत दियो।

व्यक्तिको मृत्युपछि धर्म, संस्कृति तथा परम्परा अनुसार कसैको शव जलाइन्छ भने कसैको गाडिन्छ। तर, जोशीको शव भने न जलाइयो न त गाडियो नै। उनको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमै फर्काइयो।

महानगरपालिकाबाट उनको शव यात्रा शुरु भयो। शव यात्रामा सडकको दायाँ-बायाँ हेर्ने व्यक्तिको बाक्लो उपस्थिति देखिन्थ्यो। कसैले बाटैमा जोशीको शवमा पुष्प गुच्छा चढाएका थिए भने कसैले पैसा चढाएको देखिन्थ्यो।

शवयात्रा भने निक्कै शान्त थियो। शव यात्रामा सहभागी व्यक्तिको होस् वा उनको शव नियाल्ने व्यक्तिकै किन नहोस्, मुस्किलले मात्रै आवाज सुनिन्थ्यो। शवयात्रामा सहभागीहरू धुमिलश्वरमा जोशीको आत्म शान्तिको कामना गरिरहेको सुनिन्थ्यो।

केही बेरको शवयात्रापछि जोशीको शव किष्ट मेडिकल कलेजमा पुर्याइयो। अस्पतालभित्र जोशीको शव वरिपरि उभिएर विद्यार्थीहरूले सम्मानका साथ शवको अध्ययन गर्ने सपथ लिए। त्यसपछि अस्पतालको ढोका बन्द भयो।

अस्पतालले उनको शव चिकित्सा विज्ञान अधययन गर्ने विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान हासिल होस् भन्ने उदेश्यले राख्न लागेको हो। जोशीको चाहना अनुसार नै उनको शव अध्ययनका लागि राखिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिए।

जोशीले २०७७ साउन २९ गते किष्ट मेडिकल कलेजका चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान हासिल होस् भन्ने उदेश्यले मरणोपरान्त शरीर दान दिएको अस्पतालले जनाएको छ।

२०७६ मा शरीर दान गर्ने बताएपछि किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क औषधि उपचार गरेको अस्पतालका निर्देशक प्रा.डा. बज्राचार्यले जानकारी दिए। जोशीको स्वास्थ्यमा समस्या हुँदा घरैमा चिकित्सक तथा नर्स पठाएर उपचार गरिएको थियो।

अस्पताल भर्ना हुँदा जोशीको श्वासप्रश्वास तथा मुटुको चालमा समस्या थियो। पटक–पटक फोक्सो, युरिनको इन्फेक्शन हुने समस्या थिए। त्यसैगरी झाडापखाला, ज्वरो जस्ता स्वास्थ्य समस्या भइरहेका थिए। २४ दिनअघि जोशीको स्वास्थ्य अवस्था बिग्रिएको खबर पाएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो।

बज्राचार्यका अनुसार स्वास्थ्य परीक्षण तथा उपचारको क्रममा जोशीलाई डेंगु संक्रमण पुष्टि भएको थियो। करिब एक हप्तापछि डेंगु संक्रमण ठिक भयो। त्यसपछि जोशीले खानपान पनि गरे। त्यसपछि पुनः उनको स्वास्थ्य बिग्रँदै गयो। 

‘डेंगुमा सात/दश दिनपछि फेरि च्याप्छ। दोस्रोपटक च्याप्दा फोक्सोको इन्फेक्शन, मुटु सुन्नियो,’ निर्देशक डा. बज्राचार्यले भने, ‘पूरा त्यो समस्या देखिएपछि आईसीयूमा राखेर ट्रिटमेन्ट गर्दागर्दै आज सात बजेर नौ मिटनमा निधन भयो।’

जोशीको मृत्युको एउटा कारक डेंगु भए पनि पहिले देखिनै विभिन्न स्वास्थ्य समस्या भएको डा. बज्राचार्यले जानकारी दिए। जोशीको मृत्युको मुख्य कारण के थियो? भन्ने जिज्ञासामा निर्देशक डा. बज्राचार्यले भने, ‘लास्टमा त मुटु नचलेको (कार्डियाक अरेष्ट) भन्छौं, त्यसको मुख्य कारण भनेको डेंगु हो, डेंगुबाट भएको जतिलता (कम्लिकेशन)ले गर्दा (मृत्यु) भएको भन्छौं।’

अस्पतालमा कहिले सम्म शव राखिन्छ?
जोशीको शव अस्पतालमा कति समय राखिने हो भन्ने प्रश्न उब्जिरहँदा अस्पतालले पनि यसबारे प्रष्ट खुलाएको छैन। तर, उसले अनन्त कालसम्म र अवलोकनका लागि भने नराखिने जनाएको छ। जोशीको शव चिकित्सा शास्त्रका विद्यार्थीको अध्ययनका लागि निश्चित समयसम्म राखिने अस्पतालले स्पष्ट पारेको छ।

कति समयसम्म शवको अध्ययन गरिन्छ र त्यसपछि शवलाई कसरी व्यवस्थापन गरिन्छ? भन्ने जिज्ञासामा अस्पतालका निर्देशक डा. बज्राचार्यले भने, ‘२/३ वर्षसम्म पढाइ हुन्छ। उहाँको परिवारले अध्ययन भइसकेको अवस्थामा हामीलाई हिन्दू संस्कार अनुसार नै काम गर्न दिनुहोस् भन्नु भएको छ। त्यही अनुसार अघि बढ्छौं।’

यसरी वर्षौं राख्न सकिन्छ शव
जोशीको शव रसायन प्रयोग गरेर कोल्ड रुम तथा फ्रिजमा राखिने अस्पतालले जनाएको छ। 

कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन) विशेषज्ञ प्रा.डा. हरिहर वस्तीका अनुसार आन्द्रा, भुँडी जस्ता शरीरका भाग ननिकाली मृत शरीर प्रिजर्भ (भण्डारण) गरेर वर्षौंसम्म सुरक्षित राख्न सकिन्छ। 

नेपालमा कति वर्षसम्म मृत शरीर सुरक्षित राख्न सकिने प्रविधि छ? भन्ने जिज्ञासामा डा. वस्तीले भने, ‘जति वर्ष पनि रहन्छ। हड्डी हजारौं वर्षसम्म रहन्छ। बिग्रँदैन। मासुहरू, नरम तन्तुहरू अध्ययन गर्दै जाँदा २/४ वर्षमा विस्तारै विस्तारै क्षयीकरण हुन्छ।’ 

सुईको माध्यमबाट नसाहरूमा ‘स्प्रिट’, ‘फर्मालिन’ जस्ता रसायन मिसाएर मृत शरीरमा दिइने डा. वस्ती बताउँछन्। त्यसपछि त्यस्ता रसायन मृत शरीरभरी पुग्ने उनले बताए।

तर, त्यस्तो रसायन दिएपछि मृत शरीरको रंग भने केही कालो देखिन्छ। यसरी रसायन दिएर मृत शरीर राखेपछि शव नकुहिने तथा नगन्हाउने उनले बताए।

चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीले विस्तारै आवश्यकता अनुसार मृत शरीरको विभिन्न भागको अध्ययन गर्नसक्ने डा. वस्तीले जानकारी दिए। 

‘एक/एक गर्दै वर्षौं लगाएर अध्ययन गर्न सकिन्छ,’ उनले भने। 

संस्कृति तथा भाषा, साहित्यमा योगदान
जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुई पटक मदन पुरस्कार पाएका थिए। यस्तै २०२६ सालमा कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त मदन पुरस्कार पाएका थिए। जोशीले संस्कृति, भाषा, साहित्यमा साधना गरेवापत विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार पाएका छन्। 

असोज ३१, २०७९ सोमबार ००:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।