राष्ट्रपतिले आपराधिक समूहविरुद्ध 'युद्ध' घोषणा गरेपछि ५५ हजार गिरोहका सदस्य पक्राउ

राष्ट्रपतिले आपराधिक समूहविरुद्ध 'युद्ध' घोषणा गरेपछि ५५ हजार गिरोहका सदस्य पक्राउ

एजेन्सी: एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले सात महिनाअघि आपराधिक समूहहरूविरुद्ध "युद्ध" घोषणा गरेदेखि हालसम्म प्रहरीले ५५ हजारभन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ। सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपत्कालीन अधिकार दिएको छ।

गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५ हजारभन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन्। कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ।

"हामीले (संगठित अपराधविरुद्ध) युद्ध जित्दैछौँ र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौँ प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौँ", भिल्लाटोरोले उल्लेख गरेका छन्।

प्रहरी र सैन्य बलहरूले एक हजार ६४४ थान बन्दुक, दुई हजार २६ सवारी साधन, १२ हजार ८४२ सेल फोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ।

कैदीहरूको बढ्दो सङ्ख्यालाई लक्षित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४० हजार जना अट्नसक्ने क्षमताको जेल निर्माण गरिरहेका छन्।

उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

असोज २९, २०७९ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।