समीक्षक फिल्म निर्देशक बनेपछि हुने यस्तै हो त !
काठमाडौं : पत्याइएकाले समीक्षा नगर्दा चलचित्र समीक्षाको इज्जत कुनै समय एकल दीपेन्द्र लामाको हातमा थियो। समीक्षा गर्दा भागमा आइपर्ने दुस्मनीले 'खाम विरोधी' पनि समीक्षामा आइहाल्न हच्किए पनि लामाको कलम चलिरह्यो कला रिपोर्टिङसँगै समीक्षामा।
उनी फिल्म निर्देशनतिर लागे। समीक्षाको बिँडो नयाँ पुस्ताले धानिरहेका छन्। तर लामाको समीक्षाको फ्यान अझै छन् जो त्यही समीक्षा कला फिल्म निर्देशनमा खोज्दा निराश भइरहेका छन्।
झन् झुर फिल्म बनाएकोमा माफी माग्नुको साटो रातोदिन सामाजिक सञ्जालमा त्यही फिल्म प्रमोसनमा लागेपछि प्रशंसकको मन कसरी थामियोस्।
यस अगाडि गोपीसम्मलाई माफ गरेका उनका प्रशंसकले दुई नम्बरी भने पचाउन सकेनन्। सामाजिक सञ्जालमा सुपर झुर भनेर प्रतिक्रिया लेखिरहेका छन्। तर लामालाई मतलब छैन प्रतिक्रियाको। उनी दोस्रो हप्ता पनि राम्रो व्यापार भएकोमा खुसी साटेर बसेका छन् सञ्जालमा।
उनका प्रशंसकले भने लेखेका छन्' जब उनी समीक्षा छोडेर फिल्म निर्देशनमा लागे उनको उधोगती सुरु भयो। उनी जुन लेभलको समीक्षा लेख्थे त्यो भन्दा पनि अब्बल सिनेमा बनाउँछन् जस्तो लाग्थ्यो तर अन्तिममा औसत निर्देशक भएर निस्के।'
फिल्मसम्बन्धी फेसबुक पेज मुभी लभर्समा प्रकाशित प्रतिक्रियामा अगाडि लेखिएको छ'
उनीबाट जे अपेक्षा थियो त्यो पुरा भएन। चार वटा फिल्म निर्देशक गरिसक्दा म यो निचोडमा पुगेको हुँ। उनका सबै फिल्मले केही न केही मुद्दा उठाइरहेका भएता पनि सबै फिल्महरू औसत छन्।‘दुई नम्बरी’ यो लिस्टको सबैभन्दा कमजोर फिल्म हो।'
अब समीक्षा लेख्दैमा अब्बल निर्देशक हुने भए त मैदानमा खेल्ने मेस्सीभन्दा प्याराफिटमा बसेर यसरी गोल हान, उसरी गोल हान भन्नेले बढी गोल ठोकी हाल्थे नि।
धन्न दीपेन्द्रले यति आस गर्नेसम्म दर्शक कमाएका रहेछन्। दीपकराज गिरी नि छन् फिल्म निर्देशन गर्ने उनलाई कसैले निराश बनाए भनेको छ र।
असोज २९, २०७९ शनिबार ०२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।