थापाथली बागमती किनारका अनधिकृत संरचनामा पनि महानगरको 'डोजर'
काठमाडौं: काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती किनारमा बनेका अनधिकृत संरचना हटाउन थालिएको छ। नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो।
संरचना हटाउन समितिले गत माघमै सूचना प्रकाशित गरी काम अघि बढाएको थियो। यद्यपि, विभिन्न समूहको दबाबमा काम रोकिएको थियो। अहिले भने काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए।
अनधिकृतरूपमा निर्मित रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ।
यता थापाथली क्षेत्रमा सुकुम्बासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध भइरहेको छ। सुकुम्बासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाई अभियानकर्मीले माग गरेका छन्।
असोज २८, २०७९ शुक्रबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।