फ्राइडे रिलिज: प्रदर्शनमा आयो 'हिजो आजका कुरा', 'गडफादर' बन्न सक्छ तगारो
काठमाडौं: आजबाट सिनेमा हलहरूमा पाँच वटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'हिजो आजका कुरा', जापनिज एनिमेशन फिल्म 'रेड', प्यान इण्डियन फिल्म 'गडफादर' र 'कांतरा' र बलिउड फिल्म 'डक्टर जी' प्रदर्शनमा आएका छन्।
यीमध्ये नेपाली दर्शकले 'हिजो आजका कुरा'लाई नै पर्खिएका थिए। 'माया जदौ' बोलको चलचित्रको गीत, सन्तोष पन्तको चर्चित हास्य टेलिश्रृङ्खलाको लिगेसी भएका कारण पनि फिल्म प्रतीक्षित थियो।
चलचित्रमा सन्तोष पन्तसहित रमा थपलिया, ऋचा शर्मा लगायतका कलाकार छन्। चलचित्रको निर्देशन साकार पन्तले गरेका छन्। चलचित्र झण्डै साढे २ घण्टा लामो छ। फिल्म कमेडी ड्रामा विधामा बनेको छ।
यो फिल्मलाई भने दक्षिण भारतीय अथवा प्यान इण्डियन फिल्म 'गडफादर'ले चुनौती दिने सम्भावना छ। एक्सन विधामा बनेको यस फिल्ममा दक्षिण भारतका मेगास्टार चिरञ्जीवीको अभिनय छ। यस्तै बलिउडका 'भाइजान' सलमान खान पनि चलचित्रको मुख्य कलाकार हुन्।
निर्देशक मोहन राजा हुन्। एउटा राजनीतिक नेताको निधनपछि उनको स्थानमा राज गर्न आएको एउटा व्यक्तिको कथा फिल्ममा छ। फिल्म २ घण्टा ३७ मिनेटको छ।
यस्तै १८ वर्षमुनिका दर्शकले हेर्न नमिल्ने फिल्म 'डक्टर जी' पनि आजबाट प्रदर्शनमा आएको छ। कमेडी ड्रामा विधामा बनेको फिल्ममा आयुष्मान खुराना, रकुल प्रित सिंह, सेफाली शाह लगायतका कलाकारको अभिनय छ।
२ घण्टा लामो चलचित्रका निर्देशक अनुभूति कश्यप हुन्।
फरक स्वादको चलचित्र खेल्ने छवि बनाएका आयुष्मानको फिल्म हेर्न जाँदा १८ वर्ष पुगेको परिचय पत्र चाहिँ लग्नुपर्छ है।
यस्तै मानव र प्रकृतिबीचको द्वन्द्व देखाइएको चलचित्र 'कांतारा' पनि आजबाट प्रदर्शन भएको छ। एक्सन एडभेन्चर विधामा बनेको फिल्म २ घण्टा ३० मिनेट लामो छ। निर्देशक हुन्- ऋषभ शेट्टी। मुख्य कलाकारमा पनि ऋषभसहित सप्तमी गोवडा, किशोर कुमार लगायत छन्।
अनि एनिमी लभरहरूका लागि जापनिज एनिमेशन फिल्म 'रेड' पनि फिल्म हलमा उपलब्ध छ। एक्सन एड्भेन्चर विधामै बनेको फिल्म १ घण्टा ५५ मिनेट लामो छ। निर्देशक गोरो तानिगुची हुन्।
फिल्मको कास्टमा चो, जिम फोरोण्डा, हिरोआकी हिराता लगायत छन्।
असोज २८, २०७९ शुक्रबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।