कर्णालीमा ३६ पदका लागि १९० जना चुनावी मैदानमा, प्रत्यक्षतर्फ दुई जना मात्र महिला
सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्णाली प्रदेशका ३६ सिटमा १९० जनाको उम्मेदवारी परेको छ।
प्रतिनिधि सभातर्फ १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट ७४ जना र २४ प्रदेश सभा निर्वाचन क्षेत्रमा ११६ जना गरी १९० जना चुनावी मैदानमा होमिएका छन्।
दुई निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेखमा क्रमशः १७ र १३ जनाको उम्मेदवारी पर्दा एक निर्वाचन क्षेत्र मात्र भएका सल्यानमा ७, डोल्पामा ५, मुगुमा ५, जुम्लामा ५, कालिकोटमा ७, जाजरकोटमा ६ र रुकुम पश्चिममा ६ जनाको उम्मेदवारी परेको छ।
हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी तथा एमाले र राप्रपाले उम्मेदवार उठाएका छन्। यस्तै, प्रदेशभर १३ जना स्वतन्त्र उम्मेदवारी परेको छ।
यस्तै प्रदेश सभा तर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन्। जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन्।
सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना, डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन्। यस्तै, प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
को कहाँबाट उठ्दै ?
एमालेले १० वटै जिल्लामा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्खेतका दुवै क्षेत्र, दैलेख–२ र मुगुमा उम्मेदवार उठाएको छ। माओवादीले रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लामा उम्मेदवार उठाएको छ।
यस्तै, एकीकृत समाजवादीले गठबन्धनबाट सल्यान, दैलेख–२ र डोल्पामा उम्मेदवार उठाएको छ। सुर्खेत–१ मा प्रतिनिधि सभाका लागि कांगे्रसबाट केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाही उम्मेदवार बनेका छन्।
यस्तै, २०७४ मा वाम गठबन्धनका उम्मेदवारबाट पराजित कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पुनः प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। २०४८ साल यता एमाले नेता यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्दै आएका उनी संघीयतापछिका निर्वाचनमा भने नयाँ–नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै आएका छन्।
२०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका उनी आसन्न निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बिसीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
दैलेख १ मा गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माबीच कडा प्रतिस्र्धा हुने भएको छ। दैलेख–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतिनिधिसभातर्फ दैलेख–२ मा एमालेबाट संविधान सभा सदस्य लक्ष्मी पोखरेल र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पाल शाही उम्मेदवार बनेका छन्। शाही ०७४ मा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर शाहीसँग झण्डै ३ हजार मतान्तरले पराजित भएका थिए।
सल्यानमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका उप–महासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्न एमालेले नयाँ अनुहारका रूपमा राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।
माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिममा अन्य दलको खासै प्रभाव देखिँदैन। यो क्षेत्रबाट माओवादीका नेता जनार्दन शर्मा विजयी हुँदै आएका छन्। यस पटक सत्तारुढ गठबन्धनका तर्फबाट उनी उम्मेदवार छन्।
२०७४ मा ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनीसँग यो पटक एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रतिस्पर्धा गर्ने भएका छन्। यहाँ प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा माओवादीले आफ्ना उम्मेदवार उठाएको छ।
जाजरकोटमा माओवादी केन्द्रका उप–महासचिव शक्तिबहादुर बस्नेत र एमालेका निरज आचार्यले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन्। एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्य र माओवादी केन्द्रका नेता बस्नेतको गृह पालिका भेरी हो।
त्यसैगरी कालिकोटबाट प्रतिनिधि सभातर्फ माओवादीका नेता एवं कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ को प्रतिस्पर्धीको रूपमा एमाले जिल्ला इञ्चार्ज नगेन्द्र शाही ‘नेशनल’ मैदानमा छन्।
हुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा माओवादीको भागमा परेको छ। प्रतिनिधि सभामा एमालेबाट कर्णालीका पूर्व मन्त्री दल रावल र माओवादीबाट कर्णाली प्रदेशमा मन्त्री बनेका पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) उम्मेदवार छन्। लामा कर्णाली सरकारमा ६ महिनाविना विभागीय मन्त्री थिए। रावल भने पूर्व सामाजिक विकास मन्त्री हुन्।
मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) बीच प्रतिस्पर्धा हुने भएको छ।
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्। उनीसँग एमालेका गणेशबहादुर शाहीले प्रतिस्पर्धा गर्ने भएका छन्।
जुम्लामा गजेन्द्र महतले मैदान खाली गरिदिएपछि माओवादीले गोमा गौतम (कुँवर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन्। यहाँ राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि उम्मेदवार छन्।
प्रत्यक्षमा दुई जना मात्रै महिला
प्रतिनिधि सभा सदस्यका लागि कर्णालीबाट २ जनामात्रै महिला उम्मेदवार प्रत्यक्षतर्फ चुनाव लड्दैछन््। माओवादीले जुम्लामा गोमा गौतम(कुँवर) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
जुम्लाकी कुँवर गठबन्धनको बलमा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दैछिन्।
कुँवर २०७० को दोस्रो संविधान सभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी थिइन् भने राप्रपा महामन्त्री शाही २०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र २०७४ मा ३ महिना सहरी विकास मन्त्री भएकी थिइन्।
असोज २७, २०७९ बिहीबार २१:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।