लुम्बिनीकाे चुनावी रन्काे : नौ मन्त्री चुनावी मैदानमा, कसको अवस्था कस्तो?

लुम्बिनीकाे चुनावी रन्काे : नौ मन्त्री चुनावी मैदानमा, कसको अवस्था कस्तो?

बुटवल : बुधबार साँझ चुनाव चिन्ह पाएसँगै उम्मेदवारहरू आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा होमिएका छन्। यीमध्ये लुम्बिनी प्रदेशमा बहालवाला नौ मन्त्री चुनौवी मैदानमा छन्। नौमध्ये तीन संघीय मन्त्री हुन् भने छ प्रदेशका।

गृहमन्त्री बालकृष्ण रूपन्देहीको क्षेत्र नं. ३ बाट चुनावी मैदानमा छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले एमालेले समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बोहोरासँग प्रतिस्पर्धा गर्दैछन्। ०७४ को निर्वाचनमा खाँण समानुपातिकमा बस्दा बोहोरा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए।

पञ्चायत कालमा चार पटक र गणतन्त्रपछि तीन पटक मन्त्री भइसकेका बोहराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन्। ३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा–जनता समाजवादी पार्टी (जसपा) गठबन्धन १२ हजार मतले अघि छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादी केन्द्रले दुई हजार ८८१, लोसपाले दुई हजार १७४ र एकीकृत समाजवादीले ९७७ मत पाएका थिए।

यस आधारमा सत्ता गठबन्धनको मत ४० हजार १ सय ६७ छ भने एमाले नेतृत्वको एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ मत छ। यो अंक गणितका आधारमा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री खाँण दीपक बोहरा भन्दा ६ हजार ४ सय ६१ मतले पछाडि छन्। राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजारभन्दा बढी मत रहेको दाबी गर्दै आएको छ।

दाङ क्षेत्र नम्बर १ बाट शहरी विकास मन्त्री मेटमणि चौधरी चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा माओवादीसँग तालमेल गरेर कांग्रेसकी सुशीला चौधरीलाई १० हजार ८३४ मतले पराजित गरेका उनको यसपटकको मुख्य प्रतिस्पर्धी आफ्नै पूर्वसहकर्मी एमालेकी शान्ता चौधरी हुन्।

क्षेत्र नं. १ आदीवासी जनजाती थारु समुदायको बाक्लो बसोवास रहेको क्षेत्र हो। प्रतिनिधि सभा निर्वाचनमा यहाँ ठूला राजनीतिक दलले थारु समुदायका व्यक्तिलाई नै उम्मेदवार बनाएकाले थारु समुदायको मत बाँडिने निश्चित छ। स्थानीय तहमा वडा अध्यक्षहरूले पाएको मत हेर्ने हो भने यहाँ गठबन्धन बलियो छ। कांग्रेसको २९ हजार ७५७ छ भने एमाले २७ हजार २५ र माओवादीको १९ हजार १६१ मत छ।

त्यसैगरी बाँके क्षेत्र नं. २ बाट भौतिक पूर्वाधार मन्त्री जसपा नेता मोहम्मद इस्तियाक राई चुनावी प्रतिस्पर्धामा छन् । उनले एमालेको समर्थन पाएका राप्रपा नेता धवल शमशेर राणा र नेपाली कांग्रेसका सुदिप नरसिंह राणासँग प्रतिस्पर्धा गर्दैछन्।

विगतमा यो क्षेत्र पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइरालाको क्षेत्र हो। कोइरालाको क्षेत्रमा गत निर्वाचनमा कांग्रेसले राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई समर्थन गरेको थियो। राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर धवलशमशेर राणा त्यस क्षेत्रका लागि बलिया उम्मेदवार हुन्। उनको नेपालगञ्जमा राम्रो पकड छ।

प्रदेशका मन्त्री पनि चुनावी मैदानमा
माओवादी केन्द्रबाट सरकारमा सामेल भएर प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रजित थारु दाङ क्षेत्र नं. १ को (क) तर्फ प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन्। उनले एमालेका गंगाराम भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।

थारु सोही क्षेत्रबाट ०७४ मा निवार्चित भएका थिए। उनले १७ हजार २ सय ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसका तर्फबाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री बनेका डिल्ली चौधरी दाङ क्षेत्र नं. ३ (क) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन्। उनी एमालेका घनश्याम पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। पाण्डे तुल्सीपुर उपमहानगरपालिकाका पुर्व नगरप्रमुख हुन्।

चौधरी ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। उनले १७ हजार ३५ मत प्राप्त गरी विजयी हुँदा वाम गठबन्धनका उम्मेदवार जगतप्रसाद शर्मा पराजित भएका थिए। शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए।

शिक्षा मन्त्री बसीउद्दिन खानले रूपन्देही क्षेत्र नं. ४ (ख) बाट उम्मेदवार भएका छन्। उनले एमालेले समर्थन गरेको जनता समाजवादी पार्टीका राम अवतार यादवसँग प्रतिस्पर्धा गर्दैछन्।

त्यसैगरी प्रदेशका जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पा क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यतर्फ उम्मेदवार छन्। उनका प्रतिस्पर्धी एमालेका पर्शुराम भटट्राई हुन्।

वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँके क्षेत्र नंं २ (ख) मा प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेका छन्। उनले एमालेका निरकबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्दैछन्।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहशराम यादव कपिलवस्तु क्षेत्र १ (ख) बाट उम्मेदवार भएका छन्। जसपामा रहेका यादव पार्टी त्यागेर कांग्रेसको समर्थनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका छन्।

सो क्षेत्रमा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ। उनी केही दिनअघि टिकट पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए। त्यहाँ जसपाले अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ।

असोज २७, २०७९ बिहीबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।