घर ज्वाइँ बनेर ससुरालीमा गृह प्रवेश गरेपछि आमिर खान विवादमा

घर ज्वाइँ बनेर ससुरालीमा गृह प्रवेश गरेपछि आमिर खान विवादमा

एजेन्सी: बलिउड अभिनेता आमिर खान पछिल्लो समय धार्मिक भावनासँग जोडिएको विषयमा विवादमा आइरहेका छन्। हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुर्याएको भन्दै उनको पछिल्लो फिल्म 'लाल सिंह चढ्ढा' बहिष्कारमै पनि पर्यो।

अहिले फेरि एउटा विज्ञापनको कारण उनी यस्तै विवादमा परेका छन्। एउटा निजी बैंकको विज्ञापनको भिडियोमा आमिर खान हिन्दू परम्परभन्दा फरक काम गरिरहेको देखिन्छ। यसैले उनलाई पुनः विवादमा ल्यायो।

विज्ञापनमा उनले अभिनेत्री कियारा आडवाणीसँग विहे गरेका हुन्छन्। हिन्दू परम्पराअनुसार विहेपछि महिला चाहिँ पुरुषको घरमा गृह प्रवेश गर्छन्। तर भिडियोमा भने आमिर खान घर ज्वाइँ बनेर ससुरालीमा गृह प्रवेश गरेको देखाइएको छ।

यस विज्ञापनलाई लिएर भारत मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले कडा आपत्ति जनाएका छन्। उनले यस्ता विज्ञापनले भावनामा चोट पुग्ने बताए। उनले आमिर खानलाई यस्तो गर्ने अनुमति नभएको पनि बताए।

उनले भारतीय परम्परा र रीति रिवाजलाई ध्यानमा राखेर मात्र विज्ञापन खेल्न पनि आमिरलाई अनुरोध गरे।

यस्तै संस्कृति बचाओ मञ्चले पनि यस विषयमा दुःख मनाउ गरेको छ। मञ्चका अध्यक्ष चन्द्रशेखर तिवारीले भने, 'म आमिर खानलाई सोध्न चाहन्छु कि के उनले हिन्दू धर्मको प्रथाहरू बदल्ने ठेक्का लिएका छन्? हाम्रा देवी देवताहरूको अपमान गर्नु, हिन्दू धर्मलाई आघात पुर्याउनु के यही तपाईंको उद्देश्य हो?'

यस्तै उनले हिन्दू धर्मले मातृ शक्तिलाई सर्वोपरि स्थान दिएको र यही कारण गृह प्रवेशमा पनि वधूकै पहिलो चरण घरमा प्रवेश गर्ने गरेको जनाएको छ।

असोज २७, २०७९ बिहीबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।