सुर्खेत निर्वाचन: सत्ता गठबन्धनको आडमा बाम गठबन्धनले हराएको बदला लिने कांग्रेसको दाउ, एमाले-माओवादीलाई विरासत जोगाउने चुनौती
सुर्खेत: २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमाले–माओवादीबीच गठबन्धन हुँदा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो। त्यसबेला कांग्रेसले सुर्खेतमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेको थिएन।
तर, अहिलेको परिस्थिति फरक देखिएको छ। अहिले कांग्रेस र माओवादीबीच गठबन्धन छ। गठबन्धनभित्रकै अर्को दल एकीकृत समाजवादीले भने भागबण्डा नपाएपछि एक्लै निर्वाचनमा होमिने गरी उम्मेदवार उठाएको छ।
यसपटक सुर्खेतमा २०७४ को बदला लिने दाउमा कांग्रेस हुनेछ भने एमाले र माओवादी पुरानै विरासत जोगाउने कसरतमा हुनेछन्।
प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सत्ता गठबन्धनको आडमा दुवै सिट जित्ने लक्ष्य कांग्रेसले बनाएको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी उम्मेदवार छन्। यी दुवै २०७४ मा पराजित उम्मेदवार हुन्।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रले सुर्खेतका प्रदेश सभातर्फका चार सिटमध्ये दुई सिटमा उम्मेदवारी दिएको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पनि माओवादीले प्रदेश सभाका दुई सिट नै पाएको थियो।
प्रदेश सभाको बाँकी दुई सिटमा गठबन्धनबाट कांग्रेसले नै उम्मेदवारी दिएको छ।
एमालेले भने क्षेत्र नम्बर १ मा ध्रुवकुमार शाही र क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर १ मा कांग्रेस नेता खड्का र एमालेका शाहीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। २०७४ मा शाहीसँग खड्का झण्डै तीन हजार मतान्तरले पराजित भएका थिए।
क्षेत्र नम्बर २ मा २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग पराजित भएका कांग्रेस नेता थानीले भने यसपटक नयाँ प्रतिस्पर्धी पाएका छन्। थानी २०७० को संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
यता प्रदेश सभातर्फ कांग्रेसले सुर्खेत १ (क) मा खड्क पोखरेल र २ (क) मा कालिप्रसाद शाक्यलाई उम्मेदवार बनाएको छ। पोखरेलले एमालेका ठम्मर विष्टसँग प्रतिस्पर्धा गर्नेछन्। शाक्यले एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्नेछन्।
विष्ट २०७४ मा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए। मन्त्री नपाएपछि उनले पार्टी नै छोडेर एमाले प्रवेश भएका थिए।
यस्तै १ (ख) मा माओवादीका कुष्ण जिसी गठबन्धनबाट उम्मेदवार बन्दा उनको प्रतिस्पर्धीको रूपमा एमालेका डण्डिप्रसाद शर्मा रहेका छन्।
यस्तै क्षेत्र नम्बर २ (ख) मा माओवादीका विन्दमान विष्ट दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। २०७४ मा १५ हजार ६४८ मतसहित विजयी भएका विष्टले प्रदेशको अर्थमन्त्री समेत भइसके।
विष्टले यसपटक एमालेका ताराकेशर गौतमसँग प्रतिस्पर्धा गर्दैछन्।
प्रदेश सभातर्फ क्षेत्र नम्बर २ को (क) र (ख) मा गठबन्धनकै दल एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार उठाएको छ। (क) मा जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवाललाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको छ।
समाजवादीले क्षेत्र नम्बर २ को (ख) दावी गरे पनि गठबन्धनको केन्द्रीय निर्णयअनुसार भाग नपरेपछि समाजवादी छुट्टै मैदानमा उत्रिएको छ।
शाक्य र कँडेल ३० वर्षपछि प्रतिस्पर्धामा
एमालेबाट मुख्यमन्त्रीको सपना बोकेर फेरि प्रदेश सभाका लागि उम्मेदवार बनेका यामलाल कँडेल र कांग्रेसका कालीप्रसाद शाक्यबीच ३० वर्षपछि फेरि प्रतिस्पर्धा हुन लागेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका १४ वडा मिलेर बनेको प्रदेश सभा २ (क) बढी महत्त्वका साथ हेरिएको छ।
२०४९ सालमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयरमा प्रतिस्पर्धा गरेका कँडेल र शाक्य तीन दशकपछि पुनः चुनावी प्रतिस्पर्धा आउनुलाई पनि रोचक मानिएको छ।
त्यसबेला कांग्रेसभित्रको चरम गुटगत राजनीतिका कारण मेयरमा कँडेल विजयी भएका थिए।
शाक्य २०७४ मा जिल्ला समन्वय समितिको प्रमुख हुने सपना देख्दै वडा सदस्यमा निर्वाचन लडेका थिए। तर, उनले वडामै हार व्यहोरेपछि उनको सपना तुहियो।
हृदयराम थानीलाई प्रतिनिधि सभाको टिकट दिँदा सुर्खेत कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको आकलन सुर्खेत कांग्रेसले गरेको छ। सुर्खेतमा कांग्रेसको संस्थापन पक्षबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षबाट थानीबीचको गुटगत राजनीतिले चरम सीमा नाघेपछि स्थानीय तहको निर्वाचनमा सुर्खेतमा कांग्रेस कमजोर बन्न पुगेको थियो।
२०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै उदाएका कँडेलले पाँच पटक निर्वाचनमा सहभागी हुँदा प्रतिनिधि सभामा दुई पटक (२०५१ र २०६४) र प्रदेश सभामा एक (२०७४) पटक जित हासिल गरेका छन्।
उनी पर्यटन मन्त्री समेत बनिसकेका छन्। एमालेका स्थायी कमिटी सदस्य समेत रहेका कँडेल मुख्यमन्त्री हुने दाउमा २०७४ मा प्रदेश रोजेका थिए।
नेकपा विभाजन लगायतका राजनीतिक घटनाक्रमले उनको सपना पूरा हुन सकेन।
यसपालि पनि मुख्यमन्त्री बन्ने होडमा प्रदेश नै रोजेका छन्। गत स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएका कँडेल कांग्रेसको आन्तरिक किचलोले आफूले सहज चुनाव जित्ने दावी गर्दै आएका छन्।
तर, कांग्रेस संस्थापनइतर पक्षका नेता हृदयराम थानीलाई प्रतिनिधि सभाको टिकट दिँदा सुर्खेत कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको आकलन सुर्खेत कांग्रेसले गरेको छ। सुर्खेतमा कांग्रेसको संस्थापन पक्षबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षबाट थानीबीचको गुटगत राजनीतिले चरम सीमा नाघेपछि स्थानीय तहको निर्वाचनमा सुर्खेतमा कांग्रेस कमजोर बन्न पुगेको थियो।
नौ वटा पालिका भएको सुर्खेतमा कांग्रेसले चार वटा, एमालेले चार वटा र माओवादीले एक स्थानीय तह जितेका छन्।
असोज २७, २०७९ बिहीबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।