सुर्खेत- २ को प्रदेश सभा निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, समाजवादीले लिएन उम्मेदवारी फिर्ता

सुर्खेत- २ को प्रदेश सभा निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, समाजवादीले लिएन उम्मेदवारी फिर्ता

सुर्खेत: एकीकृत समाजवादीले सुर्खेतमा गठबन्धनको निर्णयविरुद्ध दिएको उम्मेदवारी फिर्ता लिएको छैन। समाजवादीले गठबन्धनको निर्णयविपरीत सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो।

जसअनुसार (क) मा समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका थिए। यता गठबन्धनको निर्णयअनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन्।

समाजवादीले सुर्खेत क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश (ख) दावी गर्दै आएको थियो। तर, यो क्षेत्रमा २०७४ मा आफूले जितेको भन्दै माओवादीले आफ्नो भागमा पारेपछि समाजवादी गठबन्धनबाट आउट भएको हो।

सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि समाजवादीले (क) र (ख) दुवैमा उम्मेदवारी दर्ता गराएको थियो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवैको उम्मेदवारी कायम रहेको छ। समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णयअनुसार नै दुवै जनाको उम्मेदवारी कायम रहेको बताए।

आफूहरूलाई गठबन्धनको केन्द्रीय संयन्त्रले कुनै पनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए।

अब क्षेत्र नम्बर २ (क) र (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यसले गठबन्धनका उम्मेदवारहरूलाई धक्का पुग्ने आकलन गरिएको छ।

असोज २६, २०७९ बुधबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।