आङ सान सुची थप दुई भ्रष्टाचार आरोपमा दोषी ठहर, २६ वर्षको जेल सजाय

आङ सान सुची थप दुई भ्रष्टाचार आरोपमा दोषी ठहर, २६ वर्षको जेल सजाय

एजेन्सी: म्यानमारकी नेत्री आङ सान सुची थप दुई भ्रष्टाचार आरोपमा दोषी ठहर भएकी छिन्। म्यानमारको एक अदालतले सुचीलाई दोषी ठहर गर्दै थप जेल सजाय तोकेको छ।

बुधबारको निर्णयअनुसार सुचीलाई अब कुल २६ वर्षको जेल सजाय हुनेछ।

७७ वर्षीया सुचीलाई सन् २०२१ को फेब्रुअरी १ मा त्यहाँको सेनाले सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो। नेत्री सुचीमाथि लागूऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन्। नेत्री सुचीलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ।

उनलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर्याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो।

नेत्री सुचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन्।

आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको दावी छ।

नेत्री सुचीविरुद्धका मुद्दाको सुनवाइ नेपिटो शहरको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ। उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन। 

उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन।

असोज २६, २०७९ बुधबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।