टंक विष्टको उम्मेदवारी फिर्ता गराउन महरादेखि मुख्यमन्त्रीसम्मको दबाव

टंक विष्टको उम्मेदवारी फिर्ता गराउन महरादेखि मुख्यमन्त्रीसम्मको दबाव

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी फिर्ता लिन हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई दबाव दिएका छन्।

दाङ–१ (क) बाट हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवार बनेका टंक बहादुर बिष्टलाई मुख्यमन्त्री केसीले उम्मेदवारी फिर्ता लिन दबाव दिएका हुन्।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूलाई घरबाट गाउँपालिकाको कार्यालय लगेर मुख्यमन्त्री केसीसँग भेट गराएको र भेटमा मुख्यमन्त्रीले उम्मेदवारी फिर्ता नलिए नराम्रो हुने धम्की दिएको विष्टले बताए।

‘मलाई माओवादी केन्द्रका साथीहरूले उम्मेदवारी फिर्ता लिन दबाव दिइरहेका थिए,’ उनले भने, ‘पुर्व सभामुख कृष्णबहादुर महराले घरमै आएर उम्मेदवारी फिर्ता लिन दबाव दिँदा मैले मलाई नै सहयोग गर्न आग्रह गरेको थिएँ, अहिले फेरि नराम्रो हुने भन्दै दबाव आइरहेको छ।’

विष्टले मुख्यमन्त्री केसीलाई आफू जनताको बीचमा गइसकेकाले उम्मेदवारी फिर्ता गर्न नसक्ने जानकारी गराएको बताए। उनले आफू दिउँसो २ बजे जनतामाझ जानेसमेत बताएका छन्।

उनले थपे, ‘उनीहरूले दिउसो मलाई कन्भिन्स गर्ने प्रयास गर्छन्, साँझ ६ बजे पछाडि कार्यकर्ताले धम्की दिने काम भएको छ, उनीहरूसँग नझुकि जनता सामु जान्छु।’

यस्तै टंकले आफूलाई जबरजस्ती मुख्यमन्त्रीलाई भेटाउन लगिएकाेसमेत आराेप लगाएका छन्।

उता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने जबरजस्ती मुख्यमन्त्रीसँग भेट नगराएको बताए। आफूहरू दाजुभाइ रहेको बताउँदै प्रकाशले गाउँपालिका कार्यालयमा सँगै जाँदा उम्मेदवारी फिर्ताका बारेमा कुरा नगरेको दाबी गरे।

 ‘उनलाई उम्मेदवारी फिर्ता लिन कसैले पनि दबाव दिएको छैन, लोकतन्त्रमा स्वतन्त्रता हुन्छ, त्यो मैले पनि बुझेको छु’, उनले भने।

असोज २६, २०७९ बुधबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।