रुपन्देही २ मा उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनमा खैलाबैला, अब के हुन्छ ?
बुटवल : बैंकिङ कसुरमा कालोसूचीमा परेका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै सत्तागठबन्धन दलभित्र खैलाबैला मच्चिएको छ।
प्रतिनिधि सभातर्फ रुपन्देही २ मा उम्मेदवारी दिएका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि अब सो क्षेत्रमा गठबन्धनले कसलाई समर्थन गर्छ भन्ने चासो बढेको छ।
स्वतन्त्र उम्मेदवारीको हवला दिँदै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा.निकोलस भनिने कमल भुसालको उम्मेदवारी समेत खारेज भएका कारण अब गठबन्धनले अन्य साना दलबाट उम्मेदवारी दिएकाहरूलाई समर्थन गर्न सक्नेछ।
यद्यपि सत्ता गठबन्धन भने अहिले कानूनी परामर्शमा छ। गुरुङकै प्रकृतिको मुद्दा अन्य उम्मेदवारहरूको पनि रहेकोमा अरुको सदर हुँदा गुरुङको उम्मेदवारी खारेज भएपछि अदालत जाने तयारी गठबन्धनले गरेको एकीकृत समाजवादीका एक नेताले बताए।
यद्यपि निर्वाचन आयोगको निर्णय अन्तिम भइसकेकाले अब कानूनी रुपमै उनको उम्मेदवारी खारेज भएको कानूनविद् बताउँछन्।
गुरुङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनले तत्कालका लागि राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उम्मेदवार रुपसिंह थापामध्ये कसलाई समर्थन गर्ने गरी छलफल सुरु भएको बताइएको छ।
उम्मेदवारी खारेजमा परेका गुरुङ विरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो। तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। गुरुङले अन्तिम समयसम्म पैसा बुझाउनका लागि प्रयास गरेपनि ठूलो रकम भएकाले पैसा जुटाउन सकेनन्।
गुरुङ सहित एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरू विरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो।
काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादर सम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो।
गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।
गुरुङको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो।
क्षेत्र नं. २ मा अरु को–को छन् उम्मेदवार
प्रतिनिधि सभा निर्वाचन कार्यालय रुपन्देही क्षेत्र नं. २ ले कानुनी बमोजिम कायम रहेका १५ उम्मेदवारको सूची मंगलबार राति प्रकाशन गरेको छ। उम्मेदवारी दर्ता गर्दाका क्रममा १८ जनाको दर्ता भएको थियो। त्यस मध्ये गुरुङ, भुसाल र बस्यालको उम्मेदवारी खारेज भएपछि १५ जनाको नाम प्रकाशित गरेको हो।
त्यस मध्ये ८ जना स्वतन्त्र हुन भने अन्य विभिन्न राजनीतिक दलबाट छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरूमा केशव बस्याल, टोप नारायण पौडेल, तारा घिमिरे, तुल्सीराम यादव, प्रदीप ज्ञवाली, रुपसिंह थापा, विष्णु विश्वकर्मा र सुरेन्द्र भारी छन् ।
त्यस्तै एमालेका विष्णु पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस(वीपी)का नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाईजेसनका दिपक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र जनमुक्ति पार्टीका केशव बहादुर थापामगर रहेका छन्।
असोज २६, २०७९ बुधबार १०:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।