दशैं बिदामा दोब्बरले बढे बिरामी

दशैं बिदामा दोब्बरले बढे बिरामी

नुवाकोट : दशैं पर्व बिदामा जिल्ला अस्पताल त्रिशूलीमा करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन्।

अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैं बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार लिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

अघिल्ला दुई वर्षको दशैं पर्वमा कोरोना संक्रमणको जोखिम रहेको अवस्थामा समेत तीन सय बिरामीले सेवा लिएकोमा अहिले त्यो संख्या दोब्बरभन्दा बढी भएको उनले बताए।

दशैंमा ज्वरोका दुई सय ३०, डेङ्गुका एक सय ६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चारलगायतलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गरायो।

अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा. पाण्डेले बताए।

अस्पतालले दशैंमा ओपिडी सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो। अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो।

बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्यामार्फत नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बिरामीलाई सेवा पुर्याउँदै आएको छ।

असोज २६, २०७९ बुधबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।