फेवाताल सरसफाइ अभियान सुरू, पहिलो दिनमै २ सय ट्रक फोहर निकालियो
पोखरा : फेवातालको सरसफाइ अभियान सुरू भएको छ।
वर्षायामसँगै फेवामा जलकुम्भी, प्लास्टिक र बाढीपहिरोले बगाएर ल्याएका फोहरले ताल कुरुप बनेपछि पोखरा महानगरपालिकाको अगुवाइ र ३३ वटै वडाको सहभागितामा ताल सरसफाइ अभियान थालिएको हो।
ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए। अभियानको पहिलो दिन नै २ सय भन्दा बढी ट्रक फोहोर तालबाट निकालिएको उनले बताए।
‘फेवाताल सरसफाइका लागि विभिन्न स्थानमा ५ हजार बढीको सहभागिता थियो,’ उनले भने, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने लागेकोमा २ सय भन्दा बढी ट्रक फोहोर संकलन भएको छ।’
पहिलो दिनमा तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार निकालिएको र अभियानलाई निरन्तरता दिन महानगरले स्थायी संयन्त्र बनाउने प्रमुख आचार्यको भनाइ छ।
फेवाताल सरसफाइ अभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सघ संस्था, बैंक तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटनसँग सम्बन्धित संघसंस्था, लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
असोज २५, २०७९ मंगलबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।