शून्यमा झारिएपछि लुम्बिनीमा एकीकृत समाजवादीको विद्रोह, नाै क्षेत्रमा गठबन्धनविरुद्ध उम्मेदवारी
बुटवल : लुम्बिनी प्रदेश सभाका ५२ सिटमध्ये आफ्नो भागमा एक सिट पनि नपरेपछि एकीकृत समाजवादीले प्रदेश सभाका ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।
प्रतिनिधि सभातर्फ लुम्बिनीका २६ मध्ये चार सिट पाएको एकीकृत समाजवादीले प्रदेश सभामा ‘नील’ भएपछि नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन्। प्रदेश सभामा शून्य भएपछि पार्टीको लुम्बिनी प्रदेश कमिटी गठबन्धनका दलहरूसँग असन्तुष्ट बनेको थियो।
पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची र बर्दियाका प्रदेशसभामा कुल ९ वटा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको हो।
नवलपरासी पश्चिमको क्षेत्र नं. १ (क) बाट टंकप्रसाद खनालले गठबन्धन विरुद्ध उम्मेदवारी दिँदा क्षेत्र नं. २ (ख) बाट प्रकाश भट्टराईले उम्मेदवारी दिएका छन्। अर्घाखाँचीका जिल्ला अध्यक्षसमेत रहेका रामबहादुर चौहानले प्रदेशसभा (क)मा मनोनयन दर्ता गराएका छन्।
त्यस्तै कपिलबस्तुको क्षेत्र नं. १ र ३ मा पनि नेकपा एसले उम्मेदवारी दर्ता गरेको छ । क्षेत्र नं. १ (ख) मा फैजल खान र क्षेत्र नं. ३ (क) मा जीवलाल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्। बर्दिया क्षेत्र नं. १ (क) मा बखतबहादुर खड्का र (ख) मा डिलबहादुर बीसीले उम्मेदवारी दिँदा क्षेत्र नं. २ (क) मा लक्ष्मीकान्त शर्मा र (ख) मा हर्कबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन्।
सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई लुम्बिनीका ४ वटा संघीय क्षेत्र दिएको छ। जसमध्ये रुपन्देही क्षेत्र नं. १ मा राजु गुरुङ, पाल्पा क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डे, दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरी र गुल्मी २ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन्। गुल्मी–२ मा झाँक्रीविरुद्ध नेपाली कांग्रेसका डा. दामोदर भुसालले उम्मेदवारी दिएका छन्।
असोज २५, २०७९ मंगलबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।