भगवान भरोसामा नेपालका साहसिक पर्यटन, विभागसँग न सुरक्षा मापदण्ड न त दक्ष जनशक्ति
काठमाडौं : काठमाडौंको फरेष्ट्री एग्रीकल्चर इन्टरनेशनल क्याम्पसले हरेक वर्ष विद्यार्थी घुमाउन नेपालका गाउँघर लैजान्थ्यो। तर, तीन वर्षदेखि भने भ्रमण रोकिएको छ।
तीन वर्षअघि विद्याथीलाई गोरखाको गाउँ र खेतीयोग्य जमिन घुमाउन लगियो। फिल्ड भिजिटको नेतृत्त्व शिक्षक लक्ष्मण नारायण जोशीले सम्हालेका थिए। पौडी नखेल्न गरिएको आग्रह नटेरेर एक विद्यार्थी बगिरहेको बुढीगण्डकीमा हामफाले। पौडीबाजसमेत रहेका ती विद्यार्थीलाई बुढीगण्डकीमा बेपत्ता भए।
काठमाडौंको स्वीमिङ पुलमा पौडी खेलिरहेका उनलाई नदीको बहाव बुझेका थिएनन्। हाम फाल्दा भुमरीमा परे। विद्यालयमा शारीरिक व्यायामदेखि अन्य क्रियाकलाप सिकाउने शिक्षक जोशीलाई नदीमा हामफाल्न आँट आएन। अन्य विद्यार्थी पौडी खेल्नै नजान्ने थिए। तीन दिनपछि उनको शव फेला पर्यो।
‘हाम्रो प्रणाली यति कमजोर रहेछ कि कुनै दुर्घटना घटिहाले तुरुन्तै उद्धार गर्नसमेत सक्दा रैनछौं,’ उनले भने, ‘भुमरीले गायब पारेका विद्यार्थीको शव तीन दिनपछि सेनाको आपतकालीन उद्धार टोलीले खोजेर परिवारको जिम्मा लगायो।’
उक्त घटनापछि उचित सुरक्षा प्रावधान नभएको भन्दै अभिभावकले विद्यार्थीलाई बाहिर पठाउनै डराए। अहिले काठमाडौं नजिकका कृषियोग्य भूमिमा फिल्ड भिजिट गराइने उनले बताए।
विद्यार्थी लिएर जानेको मात्र होइन पर्यटन व्यवसायी पनि यो कुरामा सहमत छन्। नेपालमा सुरक्षा व्यवस्था नभएको उनको भनाइ छ।
‘कुनै दुर्घटना घटिहाले आपतकालीन उद्धारका लागि नेपाली सेना बाहेक अन्य रेस्क्यु टोली नेपालमा छैन,’ ट्रेकिङ गाइड प्रकाश आलेले भने, ‘साहसिक पर्यटनका लागि थोरै लगानीमा प्रशस्त ठाउँ छन्, तर पर्यटकलाई ढुक्क हुने वातावरण निर्माण गर्न भने चुकेका छौं।’
‘एक क्यानडेली नागरिकलाई पोखरा घुमाउन लगेको थिएँ, काठमाडौंबाट जाँदासम्म प्याराग्लाइडिङ गर्ने भनेर निकै उत्साहित थिए। जब ठाउँमा पुग्यौं, डराएर मरिगए प्याराग्लाइडिङ गर्न मानेनन्,’ एक अनुभव सुनाउँदै ट्रेकिङ गाइड प्रकाशले भने, ‘कारण सोध्दा, सुरक्षा मापदण्ड विश्वासिलो नभएको बताए।’
प्रकाशका अनुसार, नेपालमा पर्यटक आउने भनेको माउथ टु माउथ प्रमोसनले नै हो। सरकारले नेपाली पर्यटनका लागि खासै प्रचारप्रसारमुलक काम गर्न नसकेको उनको भनाइ छ।
छैनन् दक्ष उद्धारकर्मी
बन्जी, छाँगारोहण, र्याफ्टिङ, साइकलिङ, पदयात्रा, जंगल सफारी, अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काइड्राइभदेखि यतिबेला आकाशमा बसेर खाजा, खाना समेत खान पाइन्छ। विशेष गरेर पर्वतको कुस्मामा साहसिक पर्यटनका लागि ठूलै लगानी भएको छ।
काठमाडौंबाट नजिक रहेका पहाडहरूमा पनि जिपलाइन, केबलकार जस्ता साहसिक यात्रामा लगानी भइरहेका छन्। लगानी अनुसार आन्तरिक पर्यटकलाई तान्न व्यवसायी सफल पनि देखिन्छन्। गोदावरीमा रहेको जीपलाइन, कुस्मा र भोटेकोशीमा बनेका बन्जी लगायत अन्य साहसिक खेल खेल्न आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन्छ।
कुस्मा, भोटेकोशी, गोदावरी जस्तै भौगोलिक अवस्था भएका ठाउँ नेपालमा धेरै छन्। रक क्लाइम्बिङदेखि हिमाल आरोहणसम्म नेपालमै गर्न पाइन्छ। छोटा हाइकदेखि लामा ट्रेकसम्मका लागि नेपाल उपयुक्त गन्तव्य हो। हिमालबाट बगेर आएका हिमनदीहरू प्रशस्त भएकाले बाह्रै महिना र्याफटिङ गर्न पाइन्छ यहाँ।
यसरी हेर्ने हो भने, नेपाल साहसिक पर्यटनका लागि गतिलो गन्तव्य हो। तर, यी खेलहरू कत्तिको सुरक्षित होलान् त? यसको उत्तर भने सम्बन्धित निकायसँग छैन। पर्यटनका विद्यार्थी समेत रहेका त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्राध्यापक डा. पशुपति न्यौपाने नेपालमा प्रशस्त साहसिक खेलका लागि ठाउँ भए पनि सुरक्षाको ग्यारेन्टी नभएको बताउँछन्।
न्यौपानेका अनुसार, बुढीगण्डकीमा र्याफटिङको मज्जा बर्षातको समयमा आउँछ। तर, र्याफटिङको क्रममा मानविय या प्राकृतिक दुर्घटना घटे तुरुन्तै उद्दारमा समस्या छ। हिमालमा ट्रेक गर्ने क्रममा हिमपहिरो गए उद्दार गर्ने टोली नेपाल आर्मी बाहेक अरु छैन।
‘हाम्रो देशमा हेलिकोप्टर हराउँदा त ४८ घण्टापछि गोठालोले फेला पार्छ भनेपछि कति लज्जास्पद ठाउँमा छौं हामी,’ पशुपतिले हाँस्दै भने, ‘यस्तो कमजोर सुरक्षा व्यवस्था छ, तर कुरा भने साहसिक पर्यटनको गरिरहेका छौं, पर्यटकलाई कसरी सुरक्षित महसुस गराउने भन्नेतर्फ अनुसन्धान भएको छैन।’
न्यौपानेकै कुरामा सहमति जनाए पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले पनि। पर्यटन प्रवर्द्धनका लागि केहि मात्रामा भौतिक पुर्वाधार बन्न थाले पनि सुरक्षाको ग्यारेन्टी दिन नसक्दा ‘लो कस्ट टुरिज्म’ भएको उनी बताउँछन्। व्यवसायमा जोखिम मोल्न नचाहने तर नाफा कमाउन चाहने प्रवृत्तिले सुरक्षा मापदण्डमा ध्यान नगएको उनको आरोप छ।
अनुमति र दर्ताविनै सञ्चालनमा साहसिक खेल
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल तथा क्रियाकलाप सञ्चालन गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन विभागबाट अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था छ। तर, केहि साहसिक खेल बाहेक प्रायः खेलहरू विनादर्ता सञ्चालनमा छन्।
त्यस्तै वातावरण संरक्षण नियमावली २०६६ को नियम ३ सँग सम्बन्धित बन्जी, क्यानोनिङ (छाँगारोहण), स्काइ डाइभिङ, जीप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट लगायतका साहसिक तथा पर्यटन पूर्वाधार निर्माण तथा सञ्चालन गर्न वातावरणीय अध्ययन गरी इजाजत लिन आवश्यक छ।
यस विषयमा पर्यटन विभागले ध्यानाकर्षण भएको र सूचना निकालेरै इजाजतविना सञ्चालनमा नल्याउन चेतावनी दिएको छ।
‘नेपालका साहसिक खेलहरू सबै भगवान भरोसा भन्दै चलिरहेका छन्,’ नाम नबताउने शर्तमा विभागका ती कर्मचारीले भने, ‘यदि यसरी नै सञ्चालनमा आइरहे कुनै दिन नेपालले साहसिक पर्यटनमा ठूलै क्षति भोग्नुपर्छ।’
विभागसँग अनुगमनका लागि दक्ष जनशक्ति नभएकाले व्यवसायीले जे भन्यो त्यसैमा मुन्टो हल्लाउनुपर्ने अवस्था आएको ती कर्मचारी बताउँछन्।
‘साहसिक पर्यटनको क्षेत्रमा कडाइ गर्नका लागि आफू पनि त्यस विषयमा दक्ष हुनुपर्यो नि!’ उनले थपे, ‘विभागमै दक्ष कर्मचारी छैनन् अनि कसरी कडाइ गर्ने ?’
असोज २५, २०७९ मंगलबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।