राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका भट्टराई भन्छन्– ‘पार्टीले ढिला, तर सही निर्णय गर्यो’
बुटवल : राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर रुपन्देहीको क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका एमाले नेता खिमलाल भट्टराईले पार्टीले आफ्नो बारेमा ढिलो तर सही निर्णय गरेको बताएका छन्।
पार्टीको निर्देशन पालना गरेर उम्मेदवारी दर्ता गर्न आएको बताउँदै नेता भट्टराईले आफ्नोबारेमा पार्टीले ढिलो तर सही निर्णय गरेको बताएका हुन्।
‘पार्टीले मेरा बारे निर्णय ढिलो गरेको हो, तर निर्णय सही थियो, उकेरासँगकाे कुराकानीमा उनले भने, ‘मेरा पक्षमा मतदाता, पार्टी कमिटी सबैले निर्विकल्प भनेरै नाम सिफारिस भएको थियो, त्यसैले पनि आत्मविश्वासका साथ अन्तिम समयमा आएर उम्मेदवारी दिएँ।’
आयोगले आज उम्मेदवारको नामावली प्रकाशित गर्दैछ। आयोगको अन्तिम निर्णय पर्खेर बसेको बताउँदै उनले जसले टिकट पाए पनि एमालेले जित्नुपर्ने बताए।
‘आयोगको अन्तिम निर्णय सुन्न बाँकी छ, निर्णय कसरी आउँछ भनेर पर्खेर बसेको छु,’ उनले थपे, ‘एमाले र एमालेसँग तालमेल भएका १६५ उम्मेदवारहरू नै विजयी हुनुपर्छ।’
यद्यपि सोमबार नै निर्वाचन अधिकृत चिन्तामणि शर्माले एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिकामा व्यवस्था भएको बताए।
सो व्यवस्था अनुसार भट्टराईले यसपटक टिकट नपाउने पक्का छ। रुपन्देही–५ मा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेको थियो। पार्टीले सुरुमा तिलोत्तमा नगरपालिकाका पुर्व नगर प्रमुख बासुदेव घिमिरेलाई टिकट दिए पनि अन्तिम समयमा खिमलाल भट्टराई टिकट दिएको थियो।
तर, घिमिरेले शनिबार नै पत्र पाइसकेकाले पहिले नै दर्ता गरेका हुन्। उनले दर्ता गराएको केही समयपछि मात्रै भट्टराईलले उम्मेदवारी दर्ता गराएका थिए। मंगलबार साँझ निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशित गरेसँगै पार्टीको आधिकारिक उम्मेदवार टुंगिने छ।
असोज २५, २०७९ मंगलबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।