कर्णालीको खेलुकद : अपेक्षा बढी, लगानी कम

कर्णालीको खेलुकद : अपेक्षा बढी, लगानी कम

सुर्खेत : असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट २९ खेलका लागि ४०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुँदैछन्।

त्यसका लागि खेलाडीहरू सीमित स्रोत साधाका बावजुद बन्द प्रशिक्षणमा लागेका छन्। खेलकुदमा सरकारको लगानी प्रयाप्त नहुनु, प्रशिक्षक र पूर्वाधारको अभावका कारण खेल क्षेत्रमा कर्णाली प्रदेशले खासै फड्को मार्न सकेको छैन।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यो पटक पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विजेता भएर ट्रफि ल्याउने खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान गर्ने बताए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफि मुख्यमन्त्री शाहीले अनावरण गरिसकेका छन्। उनले खेलाडीलाई ट्रफि भित्र्याउने गरी खेल्न आग्रह गरे। तर, खेलाडीहरूले भने प्रदेश सरकारले खेलकुदमा निकै कम लगानी गरेर ठूलो अपेक्षा राखेको बताउँछन्।

यसै वर्ष मात्र काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्समा मात्रै कर्णालीले १८ पदक जितेको थियो। कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भिन्न–भिन्न खेल क्षेत्रका खेलाडी भए पनि पूर्वाधार, प्रशिक्षकमा सरकारले प्रयाप्त बजेट नछुट्याउँदा समस्या भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताए।

उनका अनुसार एथलेटिक्समा कालिकोट, जुम्ला र सल्यान उसु, तेक्वान्दो, कराते, भारत्तोलन, ब्याडमिन्टनमा सुर्खेत, दैलेखका खेलाडीहरूमा सम्भावना राम्रो छ।

‘बजेट अभावकै कारण खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ छ, जुन विधाका प्रशिक्षक छन्, ती खेलमा मात्र राम्रा खेलाडी उत्पादन भएका छन्,’ उपाध्यक्ष हमालले भने, ‘सरकारले माग गरेजति बजेट नदिँदा हामीले खेलमा धेरै फड्को मार्न सकेका छैनौं, यति थोरै रकमले न खेलाडीलाई गतिलो खुवाउन सकिन्छ न त उनीहरूलाई प्रशिक्षण दिन नै!’

खेलाडी छनोटका लागि भन्दै प्रदेश खेलकुद परिषद्लाई प्रदेश सरकारले ५० लाख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ४९ लाख रूपैयाँ उपलब्ध गराएकोमा अभाव भएपछि पुनः माग गरिएको छ। परिषद्ले कम्तीमा डेढ करोड रूपैयाँ बजेट आवश्यक पर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालय समक्ष पेश गरेको छ।

प्रदेशका मुगु, हुम्ला, डोल्पा र जाजरकोट कभर्डहल नभएका जिल्लामा पर्दछन्। बाँकी जिल्लामा पनि नाम मात्रका कर्भडहल छन्। कम्तीमा सबै जिल्लामा सुविधासम्पन्न कर्भडहल भएको खण्डमा ‘इन्डोर गेम’ खेलाउन सकिने प्रशिक्षक प्रदीप राईले बताए।

यस प्रदेशका १० जिल्लामा राखेपको नाममा करिब ५० रोपनी जग्गा छ। रङ्गशाला एउटा पनि छैन। प्रदेश राजधानी सुर्खेतमा एउटा कर्भड हल र सेमिकर्भड हल छ।

राखेपले चालु आर्थिक वर्षमा सुर्खेतमा खेलमैदान निर्माण गर्न एक करोड बजेट छुट्याएको छ भने प्रदेश सरकारको सहयोगमा रुकुम पश्चिमको चौरजहारीमा क्रिकेट रङ्गशाला निर्माणको प्रक्रियामा छ । यसका लागि प्रदेशले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। वीरेन्द्रनगरमा बहुउद्देश्यीय रङ्गशाला निर्माणको कार्य पनि भइरहेको छ । 

प्रदेशको पहिलो गौरवको आयोजनाका रुपमा २०७८ मंसिरमा शिलान्यास भएको यो आयोजनाको काम हाल ३० प्रतिशत पूरा भएको छ। एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशालाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६० करोड विनियोजन गरेको छ। निर्माण सुरु भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने कार्यादेश छ।

दश हजार दर्शक अट्ने क्षमताको रङ्गशालाको संरचना भूकम्प प्रतिरोधी बनाइँदैछ। बहुउद्देश्यीय कभर्डहल, फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको छ।

उसो त दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने गरी वीरेन्द्रनगरमा रङ्गशाला निर्माण गर्न थालिए पनि हालसम्म खेलकुदका ठूला प्रतियोगिता आयोजना हुनसकेका छैनन्।

असोज २४, २०७९ सोमबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।