सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच १७४९ मतको फरक, खाँण र बोहोरामा को बलियो ?
बुटवल : अन्ततः रुपन्देही क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाँण र राप्रपाका दिपक बोहोराबीच प्रतिस्पर्धा हुने भएको छ।
मनोनयन दर्ता भइसकेकाले अब खाँण र बोहोराबीच प्रतिस्पर्धा हुने भएको हो। बोहोरालाई एमालेले समर्थन छ भने खाँण वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्।
एमालेले क्षेत्र नं. ३ मा घनश्याम भुसालको टिकट खोसेर राप्रपाको तालमेलका उक्त निर्वाचन क्षेत्र दिएका थिए। भुसालले टिकट नपाएकै कारण पार्टी परित्यागको घोषणा गरी गठबन्धनले सहयोग गर्ने आश्वासनपछि रुपन्देही–१ बाट उम्मेदवारी दिएका छन्।
०७४ सालको निर्वाचनमा समानुपातिकमा बसेका खाँणको यस पटक बोहोरासँग कडा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ। त्यो क्षेत्रमा राप्रपा दीपक बोहोराको राम्रो प्रभाव छ। अघिल्लो निर्वाचनमा एमालेका घनश्याम भुसालसँग पराजित बोहोरा यसपटक एमालेको बलमा संघीय सांसद बन्ने सुरमा छन्।
एमालेको समेत बलियो पकड रहेको रुपन्देही–३ मा राप्रपाको समेत यहाँ १४ हजार बढि मत छ। त्यसैले पनि यस पटक बोहोरालाई यो चुनाव सहज भएको आँकलन गरिएको छ।
पछिल्लो समय गृहमन्त्री खाँण आलोचित समेत भएका छन्। पत्नी मञ्जु खाँणलाई समानुपातिक सूचिमा राखेपछि उनीसँग कार्यकर्ता रुष्ट भएका छन्। उनीहरूले खाँणले पार्टीमा परिवारवाद लादेको आरोपसमेत लगाएका छन्।
खाँणकै गृहनगर तिलोत्तमामा संस्थापन इतर समूह सशक्त छ भने बोहोराको गृहनगर भैरहवा भएकाले भैरहवामा बोहोराको प्रभाव पनि गतिलै छ।
भातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरूण दलको राजनीति हुँदै पार्टी राजनीतिमा देउवाका सारथी बनेका खाँण बहुदल आएपछि २०४८ सालमा पहिलो आम निर्वाचनमा विजयी भएका थिए।
बुटवलबाटै उम्मेदवार भएका उनले पुराना कम्युनिष्ट नेता एमाले उम्मेदवार केशरमणि पोखरेललाई पराजित गरेको थिए। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितसँग खाँण पराजित भएका थिए।
त्यसपछि उनी २०६४ सालमा भएको संविधानसभाको चुनावमा तत्कालीन रूपन्देही– ३ अर्थात मणिग्राम क्षेत्रबाट उम्मेदवार बन्दा उनले एमाले नेता लीला गिरीलाई पराजित गरे।
२०७० सालमा एमाले नेता घनश्याम भुसाललाई पराजित गरेर खाँणले बाजी मारेका थिए। २०७४ मा भने उनी प्रत्यक्ष निर्वाचन नलडी समानुपातिकमा बसेका थिए। त्यो बेला एमाले र माओवादी मिलेर वाम गठबन्धन बनेको थियो। वाम गठबन्धनको डरले खाँणले सुरक्षित बाटो रोजेका थिए। त्यो बेला उनले बोहरालाई सघाएका थिए।
दीपक बोहोरा नेपाली राजनीतिमा सत्ता र शक्तिका लागि जुनसुकै गठबन्धन गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्। बहुदलीय व्यवस्थायताका अरु सबै चुनाव हारेका बोहोरा ०७० मा मात्र सफल भएका थिए।
०३८ सालदेखि निरन्तर रुपन्देहीमा चुनाव लडिरहेका बोहोराको चुनाव जित्ने आधार भनेको पार्टी संगठन, गठबन्धनका साथै व्यक्तिगत प्रभाव पनि रहेको राप्रपाका एक नेताले बताए।
गएको स्थानीय निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो। यो उक्त पार्टीका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको कुल योगफल हो।
यस्तै, कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवावदीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका थिए ।
सत्ता गठबन्धनको मत जोड्दा ४४ हजार १९४ हुन आउँछ। एमाले र राप्रपाको मत योगफल ४२ हजार ४४५ छ।
असोज २३, २०७९ आइतबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।