मुख्यमन्त्री बन्ने लोभमा प्रदेश सभामा झरे खगराज अधिकारी, कास्की–१ ‘क’मा मनोनयन दर्ता

मुख्यमन्त्री बन्ने लोभमा प्रदेश सभामा झरे खगराज अधिकारी, कास्की–१ ‘क’मा मनोनयन दर्ता

पोखरा : एमालेको तर्फबाट गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन्।

यसअघि संघीय संसदमा निर्वाचित भएका स्थायी कमिटी सदस्य अधिकारीले यसपटक भने कास्की–१ ‘क’ को प्रदेश सभाको निर्वाचनमा लड्नका लागि मनोनयन दर्ता गराएका हुन्।

अधिकारी आइतबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावक टिकाराम पंगेनी र समर्थक कालिदास सुवेदी हुन्।

अधिकारी गण्डकी प्रदेश सभामा एमालेको तर्फबाट प्रस्तावित मुख्यमन्त्री हुन्। यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उप–महासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेशमा चुनाव लडेका हुन्।

पूर्व स्वास्थ्यमन्त्री एवं गृहमन्त्री भइसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा टिकट दिएका हुन्।

गण्डकीमा लामो समयदेखि अधिकारी र एमालेकै उपमहासचिब गुरुङबीच गुटगत लडाइ चल्दै आएको छ। दुईबीच २०७४ सालको स्थानीय तहको निर्वाचन देखिनै शक्ति संघर्ष चल्दै आएको हो।

त्यसबेला पोखरा महानगरपालिकाको मेयरको टिकट गुरुङ निकट मानबहादुर जिसी र अधिकारी निकटका कृष्णबहादुर थापालाई दिने भन्ने विषयमा दुई नेताबीच विवाद भएको थियो।

गुरुङ मुख्यमन्त्री भएपछि कास्की एमालेमा समेत उनको रजगज चलेको थियो। लामो समयदेखि अधिकारीको वर्चश्व रहँदै आएको कास्कीमा गत अधिवेशनपछि गुरुङ निकटका मनबहादुर गुरुङ निर्वाचित भएका थिए।

गुरुङ र अधिकारीबीचको द्वन्द्वका कारण कास्कीको अधिवेशनमा मतदान नै भएको थियो। मतदानमा अधिकारी निकट दामोदर बैरागीलाई गुरुङनिकट मनबहादुरले पराजित गरेका थिए।

लामो समयदेखि आन्तरिक रुपमा चलेको शक्तिसंघर्षमा अन्तत अधिकारीले प्रदेश सभामा निर्वाचन लडेर मुख्यमन्त्री बन्न चाहेका गुरुङलाई संघमा पठाएर आपूm प्रदेश सभामा झरेर मुख्यन्त्री बन्ने दाउमा अधिकारी देखिएका छन्।

असोज २३, २०७९ आइतबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।