लुम्बिनीमा एकीकृत समाजवादी : संघमा जम्मा चार सिट, ५२ सिटको प्रदेश सभामा ‘नील’
बुटवल : संघीय निर्वाचनमा लुम्बिनीबाट ४ सिट पाएको एकीकृत समाजवादी पार्टी प्रदेश सभाका ५२ सिटमा भने ‘नील’ भएको छ।
गठबन्धन दलहरूको भागबन्डामा संघीय निर्वाचन क्षेत्रमा ४ सिट पाए पनि प्रदेश सभामा भने कुनै पनि भागबन्डा पाउन सकेन।
संघीय निर्वाचन क्षेत्र लुम्बिनी प्रदेशमा कुल २६ हुन्। त्यसमध्ये एकीकृत समाजवादीले दाङ–१ बाट मेटमणि चौधरी, गुल्मी–२ बाट रामकुमारी झाँक्री, पाल्पा–२ बाट सोमप्रसाद पाण्डे र रूपन्देही–२ बाट राजु गुरुङले टिकट पाएका छन्।
नेपाली कांग्रेस, जनमोर्चा, माओवादी केन्द्र, लोसपाको तालमेलका कारण प्रदेश सभामा भने उसले एक सिट पनि नपाएको हो। यसअघि लुम्बिनी प्रदेश सभामा पाल्पाकी रमा घर्ती थिइन्। एमाले विभाजन पछि उनले एकीकृत समाजवादी रोजेकी थिइन्। घर्ती हाल लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छिन्।
एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले प्रदेश सभामा पनि आफूहरूको दाबी कायमै रहेको बताए। कपिलबस्तु, बाँके र बर्दियामा दाबी रहेको र यसबारे गठबन्धनमा सहमति खोज्ने क्रम जारी रहेको उनको भनाइ छ।
एकीकृत समाजवादीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनको भागबन्डामा पार्टीले एउटा पनि प्रदेश सभा सिट नपाउने विषय मान्य नहुने बताए। पार्टीले प्रदेश सभामा ७ सिट पाउनुपर्ने दाबी गरेको उनले बताए।
गठबन्धनको तर्फबाट संघीय निर्वाचनमा ४ सिट पाउँदा कांग्रेसको भागमा १३ सिट परेको छ। माओवादी केन्द्रको भागमा ७ सिट पर्दा राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ। एक सिट भने खाली छाडिएको छ। २६ मध्ये २५ निर्वाचन क्षेत्रको भागबन्डामा सहमतिह हुँदा बाँके–२ लाई खाली छाडिएको छ।
गठबन्धनका ५२ प्रदेश सभा क्षेत्र क–कसलाई ?
रूपन्देही–१ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादी केन्द्रले पाएको छ। रुपन्देही–३ को प्रदेशसभामा ‘क’ लोसपा र ‘ख’ कांग्रेसको भागमा परेको छ।
रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा ५ नम्बर क्षेत्रको ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसको भाग छुट्याइएको छ। कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा पर्दा क्षेत्र नम्बर ३ को ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसले बाजी मार्यो।
अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र कांग्रेस र माओवादी केन्द्रले पाएका छन्। गुल्मी–१ अन्तर्गत प्रदेश सभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा छ। क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा पर्यो।
पाल्पा–१ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा छ। क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ।
दाङ–१ को प्रदेश सभा ‘क’ मा माओवादी र ‘ख’ कांग्रेसको भागमा पर्दा क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा क्षेत्र कांग्रेसले पायो। दाङ–३ मा प्रदेशतर्फ ‘क’ कांग्रेस र ‘ख’ माओवादी केन्द्रले पाए।
त्यस्तै, रुकुम पुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेको छ। रोल्पामा भने ‘क’ माओवादी र ‘ख’ कांग्रेसले पाएको छ। प्यूठानमा प्रदेश सभातर्फ ‘क’ माओवादी र ‘ख’ कांग्रेसको भागमा परेको छ।
बाँके–१ को प्रदेशसभातर्फ ‘क’ माओवादी र ‘ख’ कांग्रेसको भागमा परेको छ। बाँके २ को प्रदेशसभा ‘क’ खाली राखिएको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ। बाँके–३ मा प्रदेश ‘क’ तर्फ माओवादी र ‘ख’ कांग्रेसको भागमा परेको छ।
बर्दिया–१ को प्रदेश ‘क’ तर्फ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ। बर्दिया–२ मा ‘क’ कांग्रेस र ‘ख’ माओवादीले पाएको छ। नवलपरासी पश्चिम–१ को प्रदेशतर्फ ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ। नवलपरासी पश्चिम–२ को प्रदेशतर्फ ‘क’ माओवादी र ‘ख’ कांग्रेसको भागमा छ।
असोज २३, २०७९ आइतबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।