घनश्याम भुसाल भन्छन्– ‘विचार राख्ने ठाउँ नपाएपछि कैद अस्वीकार गरेँ, चुनावबारे छलफल गर्दैछु’
बुटवल : एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले परित्याग गरेको घोषणा गरे।
४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेको भन्दै पार्टी छाडे। पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टी परित्यागको घोषणा गरेका उनै भुसालसँग उकेराले गरेको कुराकानी।
एमालेले टिकट नदिएर परित्यागको घोषणा गर्नुभएको हो?
एमालेले टिकट नदिएको हो भन्ने भाष्य भन्दा पनि यसको लामो पृष्ठभुमि छ। मेरो सामाजिक सञ्जालमा पनि केही विवरण छ। खासगरी ओलीसँग विचार, सिद्धान्त, विकास, भाष्य, भूराजनितिमा मेरो डिफेन्सी थियो। त्यो सबैलाई थाहा भएकै कुरा हो। त्यसलाई उहाँले व्यक्तिगत ईर्श्या, दोषको रूपमा लिनुभयो। मैले अन्तिमसम्म त्यहाँभित्र थोरै भए पनि आफूले भन्ने, छलफल गर्न पाएको भए यस्तो निर्णय लिनुपर्ने थिएन।
म आफैँ क्रान्तिको व्याख्या गर्दा समेत मैले क्रान्ति शान्तिपूर्ण तरिकाले हुन्छ। क्रान्ति शान्तिपूर्ण गर्नुपर्छ भनेर व्याख्या गर्दै बसेको हुँ। थोरै स्पेश भएसम्म पनि शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्नेमा थिए। मेरा प्रति म इमान्दार छु। मेरा लागि, परिवारका लागि भनेर कुनै कहिल्यै निर्णय आज सम्म गरेको छैन। यो दाबी छ मेरो।
त्यसको अर्थ मेरो तर्फबाट म आन्दोलनमा समर्पित गरे। त्यसको अर्थ मैले व्यक्तिगत कुरा खोजेको होइन। पार्टीलाई विधिमा नीतिमा सिद्धान्त, पद्धतिमा मूल्यमा चलाउन खोजेको हुँ। त्यसको कुनै सम्भावना मैले देखिन। बरु त्यो गरे बापत, विचारको कुरा गरे बापत म जहिल्यै अपमानित हुनुपर्यो।
त्यसलाई मैले यो व्यक्तिगत कुरा हो, क्रान्तिमा यस्तो हुन्छ भनेर हेरिरहँे। आफूले राख्ने विचार बहस गर्ने छलफल गर्ने थोरै पनि स्पेश नपाएपछि त्यहाँ म हुने भनेको कैदमा रहने जस्तो भो। त्यो कैदलाई मैले अस्वीकार गरेको हुँ।
तत्कालका लागि प्रतिनिधि सभामा टिकट नपाएर छाड्नु भयो भन्ने छ नि?
त्यो पनि होला। त्यो भन्न छुट पनि छ। त्यो भनेर मलाई आलोचना गर्नु स्वभाविक हो भन्ने लाग्छ। किनकी बिग्रेको, मूल्य हराएको राजनीतिमा त्यो सम्भव छ। तर, यो मैले भावी दिनमा पुष्टि गर्नुपर्छ। इतिहास हेरियोस् मैले कहिल्यै आफ्ना लागि राजिनीतिक निर्णय गरेको छैन। भोलि पनि गर्दिन। भोलि गरेँ भने म दोषि ठहरिनेछु इतिहासमा।
मेरो दाबी के हो भने प्रतिनिधि सभाको लागि भनेर यो निर्णय गरेको छैन। तर, यो निर्णय १० बुँदेहरूले घुँडा टेक्नुपर्छ भनेर अराजनीतिक मूल्यहीन प्रचार गर्ने र मानिसको हुर्मत लिन खोजिँदैछ, यो कुरा भने गलत हो। मैले चुनाव सजिलोका लागि यो गर्दै छु भन्ने आरोप १ सय प्रतिशत अस्वीकार गर्छु।
तपाईं एमाले परित्याग गरेकै हो? नेकपा विभाजन पछि पनि तपाईं एमाले छाड्नुभएको थियो?
नेकपा विमाजनपछि म एमालेमा फर्केको होइन, एमालेमै थिए। के मात्र थियो भने त्यो एमालेमा हामीलाई बाहिर निकालेर भित्रबाट ढोका बन्द गरिएको थियो। हाम्रो झगडा हामीभित्र बस्न पाउनुपर्छ भन्नेमा थियो। यो घरका हामी बराबर अंशियार हौं। मेरो दाबी के हो भने ओली र म उत्तिकै अंशियार हौं। त्यसमा को पदमा छ, व्यवस्थापन कसले गर्छ त्यति मात्र फरक हो। मानवीय मूल्य नै फरक हुने २१औं शताब्दीमा कुनै पार्टी हुन्छ? हुदैनथ्यो। त्यस अर्थमा त्यो मेरो प्रतिक्रिया हो।
अब के गर्नुहुन्छ ?
लोकतन्त्र प्रतिको आस्था विश्वास वाम एकताका लागि सम्पूर्ण प्रत्यत्न हिजो जत्तिको सक्रियताका साथ लाग्नेछु। लोकतन्त्रको रक्षा, बाम आन्दोलनको एकता र यसको सुदृढिकरणका लागि मेरो आगामी यात्रा रहनेछ।
चुनावमा जानुहुन्छ कि नाई?
चुनावको बारेमा अझै छलफल गरेको छैन। विचार गर्दैछु।
१० बुँदे पक्षधरमा तपाईं र भीम रावललाई मात्र टिकट नदिनुको कारण के हो जस्तो लाग्छ?
१० बुँदेको स्प्रिटमा कुरा गरिरहेकाहरूलाई दिइएन। १० बुँदे भनेको १० भाइ मात्र होइनन्। अरु पनि त्यहाँ थिए।
तपाईंका प्रशंसकले के भन्छन्?
उहाँहरू धेरैले दुःखद् हो भन्नुभएको छ। मेरा लागि स्वयम् दुःखद् हो। ४५ वर्ष योगदान दिएको पार्टीबाट निस्कँदा त्यसको घाउ मैले व्यहोरेको छु। हामी कुनै आन्दोलनको दौरानमा भेट हुन्छ भन्ने विश्वासमा छु।
अरु पार्टीमा गएर चुनाव लड्ने भन्ने पनि बाहिर आएको छ? के हो सत्यता?
मैले खासै केही निर्णय लिएको छैन। अनुमानको कुरा मैले भन्न चाहन्न।
असोज २२, २०७९ शनिबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।