बाजाका राजाको गुनासो : बालिघरे छैनन्, सिजनमा हुने बिहे, ब्रतबन्धले मात्र कसरी जीविका चलाउनु ?
सुर्खेत : चौकुने गाउँपालिका–२ का देव दमाई उमेरले ६० पुगे। उनले बाजा बजाउन थालेको ५० वर्ष भयो।
१० वर्षको कलिलै उमेरदेखि उनले आफ्ना बुवासँग गाउँघरमा हुने शुभ–अशुभ कार्यक्रममा गएर बाजा बजाए। यसरी सिक्दै गर्दा उनको पेशा नै बाजा बजाउने भयो। उनले पुर्खाले गर्दै आएको पेशा अंगाले।
पहिले–पहिले गाउँघरमा पनि बाजाको राम्रै महत्त्व थियो। उनी पनि बुवाले काम गर्दै आएका विष्टकोमा बालिघरेका रूपमा काम गर्न थाले। विष्टको घरमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ र कसैको मृत्यु भएमा त्यहाँ गएर बाजा बजाउन थाले।
यसरी बजाएवापत विष्टले सिजनअनुसार धान, मकै, गहुँ दिन्थे। यसरी नै उनले आफ्नो र परिवारको जीविका चलाए।
समयसँगै विष्टका घरमा धार्मिक पूजाआजा र अन्य कार्यक्रमहरू हुनै छाडे। भए पनि वर्षमा एक दिन। त्यतिले मात्र उनलाई बालिघरे राख्न सकेनन्। त्यसपछि देव अरुकोमा पनि गएर पनि बाजा बजाउन थाले। बीस वर्षअघि उनले दिनभर बाजा बजाएको एक सय रूपैयाँसम्म लिने गर्थे।
गाउँमा बालिघरे राख्नेको संख्या घटेसँगै उनले ज्यालादारीमा काम गर्न थाले। अहिले दिनभर बाजा बजाएको पाँच सय रूपैयाँ लिने गरेको भए पनि देवता र पूजापाठमा ज्याला पाउँदैनन्। पछिल्लो समय सांस्कृतिक कार्यक्रमहरूमा पनि साउन्ड सिस्टम बज्न थालेपछि मौलिक बाजा ओझेलमा परेको उनी बताउँछन्।
‘पहिला–पहिला गाउँमा केही सानोतिनो कार्यक्रम भए बाजा बोलाएर रातभर नचाउँथे, अहिले त डेग र साउण्ड सिस्टमले हाम्रो पेशा नै धरापमा परेको छ,’ उनले भने, ‘बालिघरे पनि छैनन्, सिजनमा हुने विवाह, ब्रतबन्ध र बालिघरेले मात्रै जीविका चलाउनै मुस्किल भो।’
आफूरूलाई बाजाको राजा भनेर फुरुक्क पारिए पनि सरकारले बाजा संरक्षणमा चासो नदेखाएको उनको गुनासो छ। देवी देवताको पूजापाठदेखि नेताहरूको स्वागतमा आफूहरूलाई प्रयोग गरिए पनि त्यसको उचित मूल्याङ्कन नहुँदा बाजा बजाएरै जीविका चलाउनेहरू समस्यामा परेको उनको भनाइ छ।
कामअनुसारको ज्याला र कामको निरन्तरता नहुँदा पेशा नै लोप हुन थालेको दैलेखको ठाटीकाँध गाउँपालिका–२ का भोजने नेपालीले बताए।
‘कमाइ र सम्मान दुवै नभएपछि अहिले युवाहरू भारत गएर काम गर्न रुचाउँछन्,’ उनले भने, ‘अरु काम गरे दिनमा हजार पाइन्छ, दिनभर अरुको मनोरञ्जन गराउँदा जम्मा पाँच सय पाउँछन्, कसरी कसरी अडिन्छन् युवा ?’
पञ्चायत कालदेखि गणतन्त्रसम्म राजा र नेतालाई बाजाले स्वागत र सम्मान गर्दा पनि बाजाका राजा भनिनेहरूको पीडा ज्यूँका त्यूँ रहेको उनले बताए। देव र भोजने मात्रै होइन, बाजा बजाएर जीविका चलाउने अधिकांशको दैनिकी यस्तै हो।
विभिन्न धार्मिक, सामाजिक उत्सव तथा शोकका बेला बजाइने बाजा लोप हुने अवस्थामा पुगे पनि त्यसको संरक्षणमा कसैले चासो नदेखाएकोमा उनीहरूको चित्त दुखाइ छ। कुनै समय गाउँमा बाजा बज्दा राम्रो नराम्रो कुराको जानकारी हुन्थ्यो। सबै गाउँले राम्रोमा रमाइलो र नराम्रोमा एकजुट भएर काम गर्ने गरेको उनीहरूको अनुभव छ।
पहिले गाउँमा बाजा बज्नेबित्तिकै वल्लोपल्लो, तल्लोमल्लो गाउँका मानिसको ओइरो लाग्थ्यो। बाजा बजाउनेको व्यवस्था पनि उस्तै राम्रो हुन्थ्यो। बाजासँगै रत्यौली, हुड्के, देउडा खेल, श्रमनाचमा बालकदेखि वृद्धसम्म नाच्ने गरे पनि अहिले आएर एकाएक बाजा गुमनाम जस्तै बनेको पञ्चेबाजा संरक्षण समिति सुर्खेतका अध्यक्ष कैला खड्काले बताए।
असोज २२, २०७९ शनिबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।