लुम्बिनीका २६ सिटमध्ये कांग्रेसले १२ सिट मात्र पाउने

लुम्बिनीका २६ सिटमध्ये कांग्रेसले १२ सिट मात्र पाउने
तस्बिर- इन्टरनेट

बुटवल : पाँच दलीय भागबन्डामा नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा जम्मा १२ सिट पाउने भएको छ।

प्रदेशमा संघीय निर्वाचन क्षेत्र २६ वटा हुन्। त्यसमध्ये कांग्रेसले संघीय निर्वाचन क्षेत्रमा १२ पाउने र अन्य पार्टीले बांकी सिट बाँडफाँट गर्ने सहमति भएको कांग्रेस नेता गोविन्दराज पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार सिट बाँडफाँटमा पुरानो राप्ती अन्चल अन्तर्गतका जिल्लाहरू रुकुमपुर्व, रोल्पा प्युठान, र दाङबाट कांग्रेसले प्रतिनिधि सभामा एक सिटमा मात्रै उम्मेदवारी दिन पाउने सहमति भएको छ।

‘हामीले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पुरानो राप्तीका ४ जिल्लाबाट दाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा मात्रै पाउने भएका छौं’, पोखरेलले भने।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनविरुद्ध लडेको कांग्रेसले लुम्बिनी प्रदेशबाट रूपन्देहीमा २, नवलपरासीमा १ र कपिलबस्तुमा २ गरी ५ सिटमा मात्रै जित हासिल गरेको थियो।

एमालेसँग तालमेल भए जसपालाई एक सिट
रूपन्देहीबाट जसपाले प्रतिनिधि सभाको लागि एउटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र पाउने सम्भावना बढेको छ। यद्यपि यसबारे अझै औपचारिक निर्णय भएको छैन।

जसपाका एक नेताका अनुसार जनता समाजबादी पार्टीले रूपन्देही–४ बाट प्रतिनिधि सभा र प्रदेश सभामा एक सिट पाउने छ भने एमालेले प्रदेश सभामा एक सिट पाउने छ।

त्यसैगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग समेत निर्वाचनमा तालमेल भए राप्रपाबाट प्रस्तावित उम्मेदवार दिपक बोहोराले निर्वाचन क्षेत्र नं १ मा दाबी गरेका छन्। तर, बोहराले पछिल्लो समय क्षेत्र नं ३ मा उम्मेदवार हुन सहमत भएको जानकार स्रोतको दाबी छ।

बाेहरा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेससँगको तालमेलमा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए। अहिले सो क्षेत्रबाट भुसालसँगै बासुदेव घिमिरे र यज्ञजित शाहको नाम सिफारिस भएको छ। 

त्यसैगरी रुपन्देही–१ मा पार्टी सचिव छविलाल विश्वकर्मा, क्षेत्र नं २ मा उपाध्यक्ष विष्णु पौडेल, क्षेत्र नं ५ मा खिमलाल भटराई उम्मेदवार हुने निश्चित जस्तै छ।

असोज २१, २०७९ शुक्रबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।