चितवनका १ हजार २६ जनामा डेंगु सङ्क्रमण

चितवनका १ हजार २६ जनामा डेंगु सङ्क्रमण

चितवन : जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो। तीमध्ये ६ सय ९३ जना चितवनका रहेका छन्।

दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार डेङ्गुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ।

जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ।

यस्तै, राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको हो।

सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन्। चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ।

असोज २१, २०७९ शुक्रबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।