भारतमा उत्पादित खोकीको औषधिले गाम्बियामा ६६ बालबालिकको मृत्यु, सतर्कता अपनाउन आग्रह

भारतमा उत्पादित खोकीको औषधिले गाम्बियामा ६६ बालबालिकको मृत्यु, सतर्कता अपनाउन आग्रह

एजेन्सी : भारतीय कम्पनीको खोकीको औषधिले गम्बियामा ६६ बालकालिकाको मृत्यु भएको छ।

बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले चार वटा औषधिमाथि प्रतिबन्ध लगाएको छ। बुधबार विश्व स्वास्थ्य संगठनले गरेको नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएको हो।

जेनेवाबाट विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रियससले भने, ‘गाम्बियामा पाइएको चारवटा औषधिलाई हामीले उत्पादक कम्पनीलाई चेतनावी दिएका छौं, यसबाट एक्यूट किड्नी इन्ज्यूरी र ६६ बालबालिकाको मृत्यु भएको आशंका छ।’

‘म्याडन फर्मास्यूटिकल्स लिमिटेडले बनाएको यो चार औषधि र कम्पनीको बारेमा भारतको नियामक निकायले जाँच गरिरहेको छ,’ ग्रेबियससले थपे, ‘यो उत्पादन अहिलेसम्म गाम्बियामा मात्र पाइएको छ तर अन्य देशमा पनि पठाइएको हुनसक्छ, हामीले अन्य देशमा पनि यस कम्पनीको उत्पादनको जाँच गरेर हटाउन सुझाव दिएका छौं।’

भारतका यी कम्पनीहरूले औषधिको सुरक्षाको ग्यारेन्टीसमेत नदिएको डब्लूएचओको भनाइ छ। उसले प्रोमिथाइजान ओरल सोलुसन, कोफेक्यामलिन बेबी कफ सिरप, मेकअफ कफ सिरप र म्यागरिप एक कोल्ड सिरप औषधिका कारण बच्चाको मृत्यु भएको जनाएको छ।

विश्व स्वास्थ्य संगठनले घटना सार्वजनिक गरेलगत्तै भारतको औषधि नियन्त्रण संगठनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। हरियाणाको एक कम्पनीमा बन्ने गरेको औषधिका कारण घटना घटेको हो। दिल्ली, सोनीपत र चंडीगढमा भएको औषधि मान नियन्त्रण संगठनले यो कम्पनीमा छापा मारिसकेको छ।

कम्पनीले यसबारेमा अहिलेसम्म केही पनि प्रतिक्रिया दिएको छैन। बीबीसीले कम्पनीलाई सम्पर्क गर्न खोजे पनि कोही पनि यस विषयमा कुरा गर्न तयार भएनन्। यो औषधि भारतीय बजारमा उपलब्ध नभएको र निर्यात गर्नका लागि मात्र उत्पादन गरिएको बीबीसीको एक रिपोर्टमा उल्लेख छ।

असोज २१, २०७९ शुक्रबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।