रित्तिन थाले पहाडी गाउँ, भौतिक र मानवीय विकास मुख्य कारक

रित्तिन थाले पहाडी गाउँ, भौतिक र मानवीय विकास मुख्य कारक

बुटवल : चाडपर्वको समयमा अहिले धेरै जना आफ्नो जन्मठाउँ पुगेका छन्। त्यहाँको गाउँको सौन्दर्यता, फाँटमा लहैलहै झुलेका धान अनि पुराना यादहरू एकै पटक सञ्जाल मार्फत प्रेसित पनि गरिरहेका छन्।

गाउँ अहिले साच्चै रमाइलो भएको छ। धेरै वर्षअघि संगै रहेका साथीहरूबीच भेटघाट भएको छ। विद्यालयका शिक्षक, साथी, इष्टमित्र, परिवारजनसँग भेट हुँदा को पोउ खुसी नहोला र!

अहिले गाउँमा सौन्दर्यता देख्ने, गाउँले जीवनमा खुसी हुनेहरू त्यहाँ स्थायी बसोबास गर्नेहरू मात्र नभई, विभिन्न पेशा व्यवसायका लागि गाउँ छाडेर शहरमा बसाइसराइ गरेकाहरू हुन्।

चाडपर्वको समयमा दशैं मनाउन जन्मठाउँ पुगेकाहरूकै कारण अहिले गाउँमा रमाइलो छ। तर, यो रौनक केही दिनका लागि हो, त्यसपछि त सुनसान हुनेछ गाउँ।

गुल्मी मालिका गाउँपालिका–७ घमिरका हरि पन्थी अहिले स–परिवार दशैं मनाउन गाउँ पुगेका छन्। रूपन्देहीको तिलोत्तमा–३ मा स्थायी बसोबास गर्ने उनी आफ्ना दाजुभाई, इष्टमित्रसँग भेटघाट गर्न र आशिर्वाद थाप्न गाउँ पुगेका हुन्।

घरमा ताल्चा लगाएर बुटवल झरेका पन्थी सरकारी सेवाबाट सेवानिवृत हुन्। गाउँमै २० वर्ष पढाएर बुटवल झरेका उनी छपियामा माछा फार्म समेत सञ्चालन गर्छन।

‘गाउँमा अहिले निकै खुसीयाली छ, पानी परे पनि भेटघाट, मान्यजनबाट टीकाग्रहण, आशिर्वाद लिइयो,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘सुनसान रहेको जन्मठाउँ रमाइलो भएको छ।’

दशैंको टिका लगाएसँगै गाउँबाट शहर फर्कने क्रम पनि सुरु भइसको छ। तिहारपछि त गाउँ लगभग सुनसान नै हुनेछ। पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा जग्गा जमिन बेचेर वा यसै छाडेर तराइ सर्नेको संख्या बढ्दै गएको छ।

उनीहरू चाडपर्वमा जन्मठाउँ पुग्दा गाउँ केही समयका लागि रमाइलो भए पनि त्यसपछि भने गाउँ रित्ता हुन्छन्। शहरमा बसाइसराइ गर्नेहरूका कारण गाउँमा धेरै जमिन बाँझो मात्र बनेको छैन्, पुराना घर र गोठहरू खण्डहरमा परिणत भएका छन्।

‘अघिपछि कोही नभए पनि दशैं मनाउन आएका लाहुरेले भएपछि अहिले गाउँमा रमाईलो छ, चाडबाड सकिएपछि त यहाँ सुनसान हुन्छ’, गुल्मीको अति दुर्गम मानिने मालिका गाउँपालिका–२ पाटाखर्कका नारायण लम्सालले उकेरासँग भने।

पाटाखर्कमा अहिले पनि सडक सञ्जाल पुगेको छैन। फोनले समेत सधैँ काम गर्दैन।

लम्साल भन्छन्– ‘गाउँमा सुविधा केही नहुँदा विदेशिनेहरू धेरै छन्, दुई÷चार रूपैयाँ कमाएकाहरूले शहरमा परिबार लगेर बच्चाहरू पढाउन थाल्छन्, गाउँमा हुने बुढापाका मात्र हो।’

गाउँ रित्तिनुको कारण बारे बेलिविस्तार लगाउँदै उनी थप्छन्– ‘गाउँमा केही गरौं भने यातायात सुविधा छैन, सदरमुकाम जानुभन्दा बागलुङको भिमगिठ्ठे र बुतिर्वाङ नजिक पर्छ, जे काम गरे पनि सडक नहुँदा बजारिकरणमा समस्या हुन्छ, त्यसैले सबै विदेश र शहरमा छन्।’

तथ्यांक भन्छ– ‘गाउँ रित्तियो’ 
व्यवसाय, रोजगारी र अध्ययनका लागि तराईका जिल्ला झर्नेहरूको संख्या अहिले दैनिकजसो बढिरहेको छ।

राष्ट्रिय जनगणनाको दश वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पहाडि जिल्लाहरूमा जनसंख्या २ दशमलव ३९ प्रतिशतले घटेको छ। तराईका केही पालिकाहरूमा ३ दशमलव ८५ प्रतिशत जनसंख्या वृद्धि भएको राष्ट्रिय जनगणनाको तत्थांकले देखाएको छ।

लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये ३० वटा पालिकामा २०६८ भन्दा २०७८ को जनगणनामा जनसंख्या घटेको छ। पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका २८ वटा पालिकामा २०७८ मा जनसंख्या घटेको देखिएको हो।

तराईमा बर्दियाको गेरुवा र दाङको बंगलाचुली गाउँपालिकाको मात्रै जनसंख्या घटेको देखिएको छ। भौतिक तथा मानवीय विकास खोज्दै तराईमा बसाइ सर्नेहरूकै कारण अहिले पहाडका गाउँबस्ती सुनसान बनेको तथ्यांकले पनि प्रमाणित गर्छ।

अर्घाखाँचीका पाँच पालिकाको जनसंख्या घट्दा सन्धिखर्क नगरपालिकाको जनसंख्यामा सामान्य वृद्धि भएको छ। पछिल्लो दश वर्षमा लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा र रुकुमका पालिकाहरूमा भने जनसंख्या केही स्थिर देखिएको छ।

सबैभन्दा बढि पाल्पाको निस्दी गाउँपालिकाको जनसंख्या घटेको छ। जनगणना २०७८ को तथ्यांकअनुसार १० वर्षमा निस्दीको जनसंख्या ४ हजार ९८२ ले घटेको छ। २०६८ सालमा २२ हजार ६११ जनसंख्या रहेकोमा २०७८ मा १७ हजार ६२९ भएको छ।

निस्दीपछि पाल्पाकै बगनासकाली गाउँपालिकामा पनि जनसंख्या घटेको छ। बगनासकालीमा १० वर्षमा जनसंख्या ४ हजार ४२७ ले घटेको छ। पाल्पाकै पूर्वखोला, रिब्दीकोट, रम्भा, रैनादेवी छहरा, तिनाउ र माथागढी गाउँपालिकामा पनि जनसंख्या घटेको छ। गुल्मीका सबै पालिकाको जनसंख्या घटेको छ।

भौतिक विकास मुख्य कारक
अहिले पनि पहाडि जिल्लाहरूमा विकासका उचित पूर्वाधार छैनन्। राम्रो स्वास्थ्य चौकी, बाह्रै महिना चल्ने सडक सञ्जाल, गुणस्तरीय शिक्षा र विद्युत् आपूर्ति नहुँदा अधिकांश मानिसको रोजाइमा सुविधा भएका शहर र तराई पर्न थालेको छ। भौतिक विकास नाम मात्रको छ।

आम नागरिक भौतिक विकास र मानवीय विकास खोज्दै तराईमा झर्ने गरेको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङले बताए। धेरै जनालाई आफ्नो पुर्खाले बसेको थलो छाडेर आउने मन नभए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायातको सहज पहुँच नहुँदा बसाइ सर्नेहरू बढेको उनको भनाइ छ।

हालसम्मका विकासका रणनीति, योजना र प्रयासहरू सबै तराई केन्द्रित हुँदा पहाडी र हिमाली जिल्ला रित्तिँदै गएको डा. गुरुङले बताए।

असोज २०, २०७९ बिहीबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।