बलात्कार आरोपित सन्दीप विमानस्थलमा उत्रिएपछि कानुनी प्रक्रिया के-के हुन्छ ?

काठमाडौं : १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्कँदै छन्।
उनले आफू आत्मसमर्पण गर्ने बताए पनि प्रहरीले इन्टरपोलको डिफ्युजन नोटिस जारी गरेपछि उनी नेपाल फर्कन बाध्य भएका हुन्।
उनी विरुद्ध प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको जाहेरी परेको थियो। जाहेरी पर्दा उनी नेपाल बाहिर थिए।
जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएसँगै उनले नेपाल फर्कने दाबी गरे पनि उनी सम्पर्कहीन बनेका थिए।
उनी विरुद्ध पक्राउ आदेश जारी भएकाले विमानस्थलको अध्यागमनमा आए लगत्तै विमानस्थल प्रहरीले पक्राउ गर्नेछ। विमानस्थलमै उनलाई पक्राउ आदेश दिएर प्रहरीले नियन्त्रणमा लिने छ।
उनको आजै स्वास्थ्य परीक्षण गराउने छ प्रहरीले।विमानस्थल प्रहरीले उनलाई प्रहरी वृत्त गौशालामा बुझाउने छ। पक्राउ आदेश जारी भए पनि न्यायिक हिरासतको अनुमति आएको छैन।
सन्दीप पक्राउ परेको २४ घण्टाभित्र प्रहरीले न्यायिक हिरासतमा राख्ने अनुमति माग्नेछ। आजै प्रहरीले अदालतमा सन्दीपको पक्राउको कारण र अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवधिको माग गर्नेछ।
सामान्यतया पहिलो पटक अदालतले पाँचदेखि सात दिनको अनुमति दिन सक्छ। पटक-पटक गरेर २३ दिनसम्म हिरासतमा राख्ने अनुमति पाउन सक्छ।
प्रहरीले अनुसन्धान अधिकृत तोक्नेछ भने जिल्ला न्यायाधिवक्ता कार्यालयले समेत सरकारी वकिललाई अनुसन्धान अधिकृत तोक्नेछ।
घटनास्थलको मुचुल्का, होटेल र रिसोर्टका कर्मचारीको बयान, क्लोज सर्किट टेलिभिजनको फुटेज, पीडितको स्वास्थ्य परीक्षण गरिसकेको छ।
अबको प्रक्रियामा सन्दीपको बयान हुनेछ। बयान लगायतका प्रक्रिया सकिएपछि तोकिएको अवधिमा प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानको प्रस्तावित राय-सुझाव पठाउने छ।
त्यसकै आधारमा सरकारी वकिलले अभियोग पत्र दर्ता गरेसँग प्रारम्भमा आरोपित सन्दीपलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ।
आदेशपछि प्रमाण बुझ्ने, बयान लिने लगायतका प्रक्रिया सकिएपछि अदालतले दोषी या निर्दोष फैसला दिने छ।
असोज २०, २०७९ बिहीबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।