खतराको तह पार गर्‍यो राप्तीले

खतराको तह पार गर्‍यो राप्तीले

काठमाडौं: मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ। लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६.३२ मिटर पार गरेको छ। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।

आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह ६.३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ। अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ।

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ। नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ। अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।

यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलीला मैदानमा बडादशैंको घटनास्थापनादेखि सुरु भएको रामलीला महोत्सव दशहरा मेला स्थगित भएको छ। अविरल वर्षाका कारण बुधबार हुने भनिएको १० औं दिनको रावण बधलगायत कार्यक्रम आजलाई सारिए पनि वर्षा नरोकिएकाले गर्ने या नगर्ने अनिश्चित बनेको सञ्चालक समितिले जनाएको छ।

असोज २०, २०७९ बिहीबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।