बलात्कार आरोपमा फरार सन्दीप आज नेपाल आउँदै

बलात्कार आरोपमा फरार सन्दीप आज नेपाल आउँदै

काठमाडौं : बलात्कार आरोपमा फरार क्रिकेटर सन्दीप लामिछानेले आज १० बजे कतार एअरबाट नेपाल आउने बताएका छन्।

नाबालिग बलात्कार आरोपमा जाहेरी दर्तासँगै फरार रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले आत्मसमर्पण गर्न नेपाल आउन लागेको बताएका छन्।

उनले बिहान १० बजे कतार एयरवेजबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने दाबी गरेका छन्। उनी वाचा अनुसार विमानस्थलमा आइपुगे प्रहरीले तत्काल पक्राउ गर्नेछ।

उनले प्रहरीमा पेस गर्ने प्रक्रियामा कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरेको उपस्थितिको लागि अनुरोध गरेका छन्।

उनले अनुसन्धानका सबै चरणहरूमा पूर्ण रूपमा सहयोग गर्ने र निर्दोष साबित गर्न कानुनी लडाई लड्ने बताउँदै उनले लेखेका छन्,‘ न्याय हाबी होस्।’

सबै प्रमाण सन्दीप विरुद्ध देखिए पनि उनले आफू
षड्यन्त्रको कठिन समयको सामना गरिरहेको दाबी गरेका छन्।

एक प्रशंसक किशोरीलाई नगरकोट लगेर पछि एयरपोर्ट नजिकको होटेलमा ल्याएर बलात्कार गरेको आरोपमा उनी विरुद्ध जाहेरी परेको थियो।

जाहेरी दर्ताको समयमा विदेशमा रहेका उनी विरुद्ध पक्राउ आदेश जारी भएपछि नेपाल आउने दाबी गरेका उनी सम्पर्कहीन भएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो।

असोज २०, २०७९ बिहीबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।