टिजर रिलिजमै फिल्म ट्रोलको सिकार भएपछि 'आदिपुरुष'का निर्देशकले दिए स्पष्टीकरण

टिजर रिलिजमै फिल्म ट्रोलको सिकार भएपछि 'आदिपुरुष'का निर्देशकले दिए स्पष्टीकरण

एजेन्सी: बाहुबली स्टार प्रभासलाई पर्नु आपत् परेको छ। फिल्म 'बाहुबली'बाट विश्वभर चर्चा कमाए पनि त्यसयताका कुनै फिल्मले उनलाई साथ दिएको छैन। 'साहो' र 'राधेश्याम'लाई दर्शकले फिटिक्कै मन पराएनन्।

हुँदा हुँदा प्रभासलाई बाहुबलीको ह्याङबाट मुक्त गराउने फिल्म भनिएको 'आदिपुरुष'ले पनि उनलाई साथ नदिने जस्तै माहोल बनेको छ। कारण- टिजरमै दर्शक भड्किनु।

बहुप्रतीक्षित यो फिल्मको टिजरमा प्रयोग भएको निम्नस्तरको भीएफएक्स र ऐतिहासिक तथा धार्मिक पात्रहरूको कार्टुनीकरणले दर्शक भड्किएका हुन्। निर्देशकप्रति दर्शक खरो रूपमा उत्रिएका छन्। बलिउडमा मात्र सीमित बहिष्कार अभियान अब यो फिल्मबाट दक्षिण भारतीय फिल्ममा पनि प्रवेश गर्ने माहोल सिर्जना भइरहेको छ।

यही सन्दर्भमा फिल्मका निर्देशक ओम राउतले आफ्नो स्पष्टीकरण दिएका छन्। उनले दर्शकको प्रतिक्रियाले आफू दुखी भए पनि हैरान चाहिँ नभएको बताए। फिल्म मोबाइलका लागि नबनेको र सिनेमा हलको लागि बनेकाले दर्शकले भीएफएक्सको मजा लिन नसकेको उनले बताए। 'फिल्म ठूलो पर्दाको लागि बनाएको हो। तपाईंले यसलाई केही काँटछाँट गर्नसक्नु हुन्छ, तर मोबाइलको लायक बनाउन सक्नुहुन्छ। मेरो हातमा हुन्थ्यो भने म युट्युबमा टिजर नै हाल्दिन थिएँ। तर यो समयको माग हो।'

लाखौँ दर्शकले आलोचना गरेको पक्षमा सहजै निर्देशकले मोबाइल भर्सनलाई गाली गरेपछि यतिबेला दर्शक झन् निराश भएका छन्।

यस्तै निर्देशक राउतले आफ्नो फिल्मको लक्षित वर्ष वृद्धवृद्धा भएको भन्दै अर्को बहाना बनाए। यस्तै रामायण भएकाले उनीहरू सिनेमा हलसम्म आएर फिल्म हेरुन् भनेर यस्तो बनाएको उनको दावी छ।

आदिपुरुष सन् २०२३ को जनवरी १२ मा रिलिज हुनेछ। फिल्ममा प्रभाससँगै कृति सेनन, सैफ अली खान लगायतका कलाकारको अभिनय छ।

असोज १९, २०७९ बुधबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।