आरजु र मञ्जुको नाम समानुपातिकबाट हटाउन खोज्दा मध्यरात किचलो, शेखर समूह ब्याक भएपछि भयो सहमती
काठमाडौँ : समानुपातिक सूचीले पार्टीमा किचलो बढेपछि कांग्रेसका नेताहरू शनिवार रातभर बसेर समस्या सुल्झाएका छन्। उनीहरूले नेता पत्नीहरूको क्रमसङ्ख्या पछाडि धकेल्ने अनि केही नाम हटाएर नयाँ नाम थपेर सूचीमा सहमति जुटाएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार यस अगाडि निर्वाचन आयोगमा बुझाएको सूचीमा रहेका केही नाम हटेका छन् भने केही नयाँ नाम थपिएको छ।
सूचीमा अटे पनि निकै पछाडि रहेको शेखर कोइराला समूहका नेताहरूको नाम अगाडि सारिएको छ।
'सूची पार्टी सभापति शेरबहादुर देउवाले चाहे अनुसार बनेको छैन। अनि शेखर कोइरालाले भने अनुसार पनि बनेन,' ती नेताले उकेरासँग भने' सहमतिका लागि मध्यमार्गी बाटो लिनै पर्ने थियो। त्यसैमा सहमति भयो।'
हटेन आरजु र मञ्जुको नाम
बैठकमा सबैभन्दा धेरै विवाद प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अनि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाममा भएको थियो।
सहमति जुटाउने बैठकमा सहभागी शेखर कोइराला पक्षका नेताहरू यी दुवैको नाम समानुपातिक सूचीबाट हटाउने पक्षमा थिए। तर अर्को पक्षले मान्दै मानेन।
लामो समयसम्म दुवै नाममा विवाद हुँदा सहमतिमा लागि बसेको बैठक लम्बिएको थियो। अन्तमा दुवै पक्ष लचिलो बन्दै उनीहरूको नाम समावेश गर्ने तर क्रमसङ्ख्या पछाडि राख्ने सहमति भयो।
बैठकमा रहेका सभापति देउवा सहित उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु, पार्टी प्रवक्ता डा प्रकाश शरण महत, नेताहरू रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा रामशरण महत लगायत सहभागी थिए ।
समावेशिताको क्लष्टर अनुसार आठौँ र नवौँ नम्बरमा राणा र खाँणको नाम थियो। सहमति अनुसार दुवैको नाम पछि सारियो।
शनिवारको सहमति अनुसार शेखर समूहको पक्षका नेताहरूले समानुपातिकमा एक तिहाइ स्थान पाएपछि सहमति भयो। बैठकमा सहमति जुटाउन महामन्त्रीद्वय थापा र शर्मा विशेष रूपमा सक्रिय भएका थिए।
उनीहरूकै पहलमा कोइराला र देउवाबिच छलफल समेत भएको थियो। कोइराला र देउवालाई अन्तिम सूचीमा मनाउन पनि यी दुवै नेताले मध्यमार्गी भूमिका निभाएका थिए।
सहमतिपछि पार्टीको तर्फबाट आयोगमा बुझाएको सूची संशोधन गर्ने जिम्मेवारी मुख्य सचिव र सचिवले पाएका छन्।
असोज १६, २०७९ आइतबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।