भक्तपुरको हिरासतमा रहेकालाई पनि प्रहरीको बडाभोज, उपहारको हैन बजेटको बोका

भक्तपुरको हिरासतमा रहेकालाई पनि प्रहरीको बडाभोज, उपहारको हैन बजेटको बोका

काठमाडौँ : प्रहरी हिरासतमा पर्नु आफैमा सुखद हैन त्यसमा पनि दशैँमा। परिवार जमघट त छुट्छ नै बन्दीको सादा सरकारी सिदामा बित्छ दशैँ।

हिरासतमा पर्ने सबै दोषी नै हुन्छन् भन्ने हुन्न। गम्भीर अपराधका आरोपितबाहेक धरौटीमा पनि छुट्न सक्छन्। तर दशैँमा अदालती र प्रशासन बन्द हुँदा दशैँ नसकिएसम्म कानुनी छिनोफानो पनि सम्भव हुन्न।

कोही-कोही अलि उदार प्रहरी प्रमुख परे कमसेकम बन्दीको सादा खानाबाट मुक्ति पाउन सक्छन् दशैँभर। भक्तपुर प्रहरीको हिरासतमा रहेकाहरूले परिवार त छुटाए तर कमसेकम सरकारी खानाबाट भने मुक्ति पाउने भएका छन्।

दशैँको सप्तमीबाट परिसर र परिसर मातहतका हिरासतमा रहेका बन्दीले प्रहरीकै मेसको खाना पाउने भएका छन्। सप्तमीमा सबै प्रहरी कार्यालयमा बोका काटेर बडाभोज लाग्छ। भोज बन्दीले पनि पाउने भएका छन्।

एसपी प्रजित केसी


अहिले भक्तपुर परिसरमा १९, ठिमीमा १५ र जगातीमा १० जना हिरासतमा छन्। उनीहरूलाई पनि दशैँ अवधिभर खाना प्रहरी मेसबाटै खुवाउने निर्णय भएको भक्तपुर जिल्ला परिसर प्रमुख प्रजित केसीले जानकारी दिए।

'जो प्रहरी हिरासतमा हुनुहुन्छ उहाँहरूलाई पनि दशैँको अवधिभर हामीले जे खान्छौ त्यही खुवाउने निर्णय भएको छ' उनले उकेरासँग भने।

हाजिर जमानीमा छाड्न मिल्ने प्रकृतिको अपराधका आरोपितलाई जमानीमा छाड्ने र हिरासतमै राख्नुपर्ने प्रकृतिको अपराधका आरोपितलाई हिरासतमा राखे पनि कमसेकम खाना प्रहरी समान खुवाउने उनले बताए।

कार्यालय प्रमुख र प्रहरी कर्मचारीको भान्छा अलग हुन्छ। कार्यालय प्रमुखले क्वाटरमै खाना खान्छन्। अन्यले मेसमा।

दशैँमा भने कार्यालय प्रमुखहरूले पनि मेसमै खाना खाने निर्णय भएको उनले जानकारी दिए।

उपहार हैन बजेटको बोका
दशैँको बडा भोजका लागि प्राय प्रहरी कार्यालयले उपहारको बोका पाउँछन्। एसपी केसीले उपहार बन्द गराएर बजेटबाट प्रबन्ध गरिएको दाबी गरे।

यसले सामान्य रूपमा भए पनि प्रहरीको आचरण शुद्धीकरण गराउने उनले दाबी गरे। 

असोज १६, २०७९ आइतबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।