लुम्बिनीका बेइमान सांसदहरू: जसले जनादेश लत्याउँदै स्वार्थलाई महत्त्व दिँदा कार्यकाल पूरा गर्न पाएनन्
बुटवल: गत असोज १४ गते लुम्बिनी प्रदेश सभा सचिवालयले दाङको भालुवाङमा औपचारिक कार्यक्रम आयोजना गरी प्रदेश सभाका सांसदहरूलाई बिदाई गरिसकेको छ। योसँगै पहिलो प्रदेश सभाको कार्यकाल सकिएको छ। र, सबै सांसद ‘पूर्व’ भइसकेका छन्।
८७ सांसदहरूसहित प्रदेश सभा गठन भएको थियो। उपनिर्वाचनबाट आएका केहीसहित कार्यकाल पूरा हुँदासम्म ८० सांसद मात्र भए। यसबीच १० जना सांसदहरूले आफ्नो कार्यकाल पूरा गर्न पाएनन्।
कसैले नियतिकै कारण कार्यकाल पूरा गर्न पाएनन् भने अधिकांश सांसद ‘अभागी’ हुनुमा उनीहरूको पद लोभ र राजनीतिक नियत कारण बन्यो।
नियतिले कार्यकाल पूरा गर्न नपाउनेमा नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोखरेल र एमाले सांसद उत्तरकुमार वली हुन्। उनीहरू दुवैको मृत्यु भयो। पोखरेलको स्थानमा दाङका शंकर गिरी र वलीको स्थानमा उनकी श्रीमती विमला वली सांसद बने।
अरूको चाहिँ राजनीतिक नियत खराब हुँदा पाँच वर्ष टिक्न पाएनन्।
०००
प्रदेश स्थापना भएपछि पहिलो सरकार नेकपाको बन्यो। राजनीतिक घटनाक्रमले नेकपा फुट्यो। माओवादी केन्द्र र एमाले ब्युँतियो। योसँगै प्रदेश सभामा पनि दुई पार्टीका सांसदहरू अलग भए।
नेकपाबाट रुपन्देही क्षेत्र नं १ को (ख)बाट निर्वाचन जितेर अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनेका दधिराम न्यौपाने र गुल्मी २ को (ख) बाट निर्वाचन जितेका दिनेश पन्थीले एमाले रोजे।
एमाले रोजेकै कारण उनीहरूलाई माओवादीले कारबाही गर्यो। प्रदेश सभाको कार्यकाल उनीहरूका लागि त्यहीँ समाप्त भयो। न्यौपाने हाल एमाले रुपन्देहीका जिल्ला सह-इन्चार्ज छन्। पन्थी एमाले केन्द्रीय सदस्य हुन्।
डाँगीले आफ्नै पार्टी नेतृत्त्वको सरकार (पोखरेलको सरकार) ढाल्न प्रदेश सभाबाट राजीनामा दिएका थिए। यसको गुन तिर्न हालका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै डाँगीलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।
प्रदेश सभाको पहिलो कार्यकाल पूरा समय बिताउन नपाउनेमा जसपाका सांसदहरू पनि छन्। रुपन्देहीको क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित सन्तोष पाण्डे, बाँकेको २ (क)बाट निर्वाचित विजयबहादुर यादव र समानुपातिक कोटाबाट निर्वाचित कल्पना लम्सालले पार्टीको निर्णयविपरीत शंकर पोखरेललाई समर्थन गरेको भन्दै उनीहरूलाई जसपाले कारबाही गरेको थियो। पोखरेल नेतृत्त्वको लुम्बिनी प्रदेश सरकारमा सामेल भएर उनीहरू चार महिना मन्त्री बने तर सांसद रही रहन पाएनन्।
उनीहरूसँगै मन्त्री बनेकी सुमन शर्मा रायमाझी भने केही समयपछि मन्त्री पद छोडेर बसेपछि अहिले गठबन्धन सरकारमा पुनः मन्त्री बनेकी छिन्। यीमध्ये समानुपातिकबाट आएकी कल्पना लम्सालको स्थानमा जसपाले कल्पना मुठभरीलाई सांसद बनायो। अरू दुवै जना प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको स्थान रिक्त भयो।
यस्तै एमालेबाट दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष निर्वाचित अमरबहादुर डाँगीले आफ्नै पार्टी नेतृत्त्वको सरकार (पोखरेलको सरकार) ढाल्न प्रदेश सभाबाट राजीनामा दिएका थिए। यसको गुन तिर्न हालका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै डाँगीलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।
एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद दृगनारायण पाण्डेले प्रदेश सभाबाट आफ्नै पार्टी नेतृत्त्वको सरकार ढाल्न राजीनामा दिए।
‘नेपाली राजनीति विचार, आस्था, सिद्धान्तभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएको छ। मैले पाए ठीक नत्र बेठीक भन्ने स्थितिले सबै पार्टीमा घात प्रतिघात गर्ने काम हुन थाल्यो। यो पार्टीहरूका लागि पनि ठूलो रोग हो’
कांग्रेसमा प्रवेश गराएर राष्ट्रिय सभामा लैजाने आश्वासन पाएपछि पाण्डेले प्रदेश सांसदबाट राजीनामा दिएका थिए। उनी ६ महिनाको लागि राष्ट्रिय सभा सदस्य पनि बने। जनादेशअनुसार कार्यालय पूरा गर्नु साटो राजनीतिक बेइमानीलाई ठूलो ठाने उनले।
बर्दिया जिल्ला क्षेत्र नं २ को (ख)बाट माओवादीबाट निर्वाचित सांसद दीपेश थारु सबैभन्दा ढिलो प्रदेश सांसद त्याग्ने नेता हुन्। स्थानीय तहको निर्वाचनमा स्थानीय राजापुर नगरपालिकाको मेयर बन्न उनले राजीनामा दिएका थिए। हाल उनी मेयर छन्।
प्रदेशभन्दा स्थानीय तहमा काम गर्न सहज हुने ठानेर उनी यता लागेको बताएका छन्।
राजनीतिक विश्लेषक ऋषि आजाद पार्टी त्याग गर्ने र प्रवेश गर्ने परिपार्टी स्वार्थबाहेक अरू केही नभएको बताउँछन्। ‘नेपाली राजनीति विचार, आस्था, सिद्धान्तभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएको छ। मैले पाए ठीक नत्र बेठीक भन्ने स्थितिले सबै पार्टीमा घात प्रतिघात गर्ने काम हुन थाल्यो। यो पार्टीहरूका लागि पनि ठूलो रोग हो’, उनले भने।
उनले नेपाली राजनीतिज्ञहरूमा इमान्दारिता, नैतिकता, अस्था र विचारको अभाव हुँदा पनि सामान्य लोभमा पनि आफ्नो विचारलाई भष्म पार्ने काम नेताहरूले गर्न थालेको बताए।
असोज १६, २०७९ आइतबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।