सन्दीप लामिछाने असोज २० गते नेपाल आउने, भन्छन्– ‘निश्पक्ष सुनुवाइ र निर्णय हुनेमा आशावादी छु’

काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आगामी बिहीबार (असोज २०) नेपाल आउने भएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले आफू बिहीबार नेपाल आउने बताएका हुन्। उनले ठूलो आशा र शक्तिको साथमा झुटो आरोपविरुद्ध कानूनी लडाइँ लड्न प्रहरीलाई सहयोग गर्ने बताए।
आफू निर्दोष भएको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको भन्दै लामिछानेले अदालत, अनुसन्धान निकायहरूबाट निश्पक्ष सुनुवाई र निर्णय हुनेमा आशावादी रहेको बताएका छन्।
साथै उनले आफ्ना शुभचिन्तकलाई आफूले कुनै गल्ती नगरेको विश्वास दिलाउन खोजेका छन्। आफूमाथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा खुल्दै जानेमा आफू विश्वस्त रहेको उनले बताए।
भदाै २१ गते लामिछानेविरुद्ध १७ वर्षीया किशाेरीले बलात्कारकाे आराेप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। भदाै ५ गते नगरकाेट लगेर सिनामंगलकाे एक हाेटलमा लगेर आफूलाई बलात्कार गरेकाे भन्दै किशाेरीले उजुरी दिएपछि अदालतले लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जीसमेत जारी गरिसकेकाे छ।
केही दिनअघि मात्र नेपाल प्रहरीले इन्टरपाेलमा डिफ्यूजन नाेटिस जारी गरेकाे थियाे। त्यसकाे केही दिनमा नै लामिछानेले आफू २० गते नेपाल आउने बताएका हुन्।
असोज १५, २०७९ शनिबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।