राजा प्रताप मल्लसँग साइनो भएकी दक्षिणकाली, जहाँ कुनै बेला राजाहरू देवाली मनाउँथे
आजबाट नेपालीहरूको महान् चाड दशैं सुरु भएको छ। आज दशैंको पहिलो दिन- घटस्थापना।
नेपाली परम्पराअनुसार घटस्थापनादेखि महानवमीसम्म नौ दिन नवदुर्गाको पूजा अराधना गरिने परम्परा छ। दशौं दिन विजयादशमीमा देवी विसर्जन गरिने परम्परा रहेको छ।
त्यसैले आजबाट हामी तपाईंहरूलाई नवरात्रका नवदुर्गा र प्रमुख शक्तिपीठहरूको दर्शन गराउनेछौँ।
सुरु गरौँ नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीबाट।
शैलपुत्री गिरिराज हिमालयकी पुत्री हुन्। हिमालयको तपस्या र प्रार्थनाबाट प्रसन्न भएर शैलपुत्री देवी उनको पुत्री बनेर उत्पन्न भएको विभिन्न पुराणमा उल्लेख छ।
कसैले पूजाआजा नगरेपछि वि.सं. १७२५ तिर चाहिँ तत्कालीन राजा प्रताप मल्लको सपनामा दक्षिणकाली स्वयं उपस्थित भइन्। आफूलाई पूजा गरून् भनेर आफ्नो हाल बताइन्। आफू बसेको ठाउँबारे जानकारी दिइन्।
देवी कवच, मार्कण्डेयलगायत पुराणहरूमा उल्लेख भएअनुसार पार्वती नै शैलपुत्री हुन्। शैलपुत्रीलाई सबैकी अधिश्वरीका रूपमा पूजा आराधना गरिने चलन छ।
घटस्थापनाको दिन जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ।
नवदुर्गामध्येकी एक शैलपुत्रीको दर्शन गरायौँ। अब शक्तिपीठ दर्शन गरौँ।
सुरु गरौँ दक्षिणकालीबाट।
श्री स्वस्थानी व्रत कथामा धेरै पटक आउने नाम हो दक्षप्रजापति। उनकी छोरी सतिदेवीले पिता दक्षप्रजापतिबाट आफ्ना श्रीमान् महादेवसहित आफ्नो पनि अपमान भएपछि यज्ञमै हाम फालेर प्राण त्यागेकी थिइन्।
सतिदेवीबाहेक दक्षप्रजापतिका अन्य ३३ कोटी कन्या थिए। तिनै ३३ कोटी कन्यामध्येकी एक हुन्- दक्षिणकाली। उनी आसन लिने क्रममा शिखरापुर नगरको शिरो भाग अर्थात् नगरचो डाँडा (शेषनारायणाको शीरमा रहेको गोरखनाथमाथिको डाँडा)मा विराजमान भएकी थिइन्।
जंगलको बीचमा ढुङ्गामा विराजमान भएकी दक्षिणकालीलाई सुरुसुरुमा कसैले पूजा गरेनन्। किनकि उनको उपस्थितिबारे कसैलाई थाहै थिएन।
कसैले पूजाआजा नगरेपछि वि.सं. १७२५ तिर चाहिँ तत्कालीन राजा प्रताप मल्लको सपनामा दक्षिणकाली स्वयं उपस्थित भइन्। आफूलाई पूजा गरून् भनेर आफ्नो हाल बताइन्। आफू बसेको ठाउँबारे जानकारी दिइन्।
तर प्रताप मल्लले खासै वास्ता गरेनन्। अति भएपछि दक्षिणकाली पनि दरबारकै पञ्चकन्यामध्येकी एउटी कन्यामा प्रकट भइन्। आफू बसेको स्थान र पूजाआजा विधिबारे जानकारी गराइन्।
यसपछि चाहिँ प्रताप मल्ल तान्त्रिक गुरु लम्बकर्ण भट्टसँग दक्षिणकाली पुगे। भूगाकर्ण नामका दुई राक्षस उत्पन्न भए। उनीहरूले राजाको सपनाअनुसार पूजाआजा गर्न आदेश दिए। अनि शिलामा विधिपूर्वक पूजा भयो।
किंवदन्तीअनुसार दक्षिणकाली माता चढेको कन्यालाई हालको कुमारी मन्दिरमा स्थापना गरियो।
तान्त्रिकहरू त्यसबेला आम मानिसलाई सहज होस् भनेर विभिन्न कुरा उत्पन्न गराइरहन्थे। त्यही क्रममा तान्त्रिकको एक समूहले आफ्नो तन्त्रमन्त्रबाट भारतीय देवीलाई नेपाल झिकाएछन्। देवीलाई नेपालमा ल्याएर मूर्तिको रूपमा दक्षिणकाली मन्दिरमा स्थापना गरेछन्।
पछि प्रताप मल्लले नै गुरु लम्बकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निष्तेज गर्न लगाए। र हालको दक्षिणकाली माताको शिलामुनि घोप्टो पारी माथिपट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत स्थापना गराए।
सोहि समयमा चामुण्डाको (दक्षिणकालीको) सेतो सङ्गमरमरको मूर्ति पनि प्रताप मल्लले नै बनाउन लगाए। उक्त मूर्तिमा प्राण प्रतिष्ठापछि निकै नै शक्तिशाली हुने विश्वास छ।
साक्षात् दक्षिणकाली देवी भएकाले नेपाल, भारत लगायत विभिन्न देशहरूबाट हिन्दू धर्मावलम्बीहरू यस मन्दिरमा पूजाआजा गर्न आउने गर्छन्।
दक्षिणकालीबारे अर्को पनि किंवदन्ती छ।
परापूर्वकालमा तान्त्रिकहरूको सम्पर्क सिधै भगवानसँग हुन्थ्यो भनेर विश्वास गरिन्छ। तर एउटै तान्त्रिक सबै भगवानसँग सम्पर्क गर्न सक्दैन थिए। त्यसैले उनीहरूको पनि खास खास भगवान हुन्थे।
तान्त्रिकहरू त्यसबेला आम मानिसलाई सहज होस् भनेर विभिन्न कुरा उत्पन्न गराइरहन्थे। त्यही क्रममा तान्त्रिकको एक समूहले आफ्नो तन्त्रमन्त्रबाट भारतीय देवीलाई नेपाल झिकाएछन्। देवीलाई नेपालमा ल्याएर मूर्तिको रूपमा दक्षिणकाली मन्दिरमा स्थापना गरेछन्।
भारतको देवी भएकाले भक्तजनले देवीकै मुखमा नरिवल फुटाउने गरेछन्। तर यसो गर्दा गर्दा पछि त देवीको मुखाकृति नै बिग्रिएछ।
त्यसैले अचेल दक्षिणकालीको मुखमा नरिवल फुटाउन पाइँन्न। त्यसका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ।
कता अनि कस्ती छिन दक्षिणकाली?
फर्पिङबाट केही पर दक्षिणकाली भन्ने स्थानमा छिन् दक्षिणकाली। काठमाडौंबाट १७ किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा छानो छैन। आकास नै देवीको छानो हो।
यो मन्दिर हरेक दिन १२ बजेपछि झण्डै एक घण्टा सर्वसाधरणका लागि बन्द हुन्छ। यसबीचमा मन्दिरका पुजारीहरूले तान्त्रिक विधिबाट निम पूजा गर्छन्। निम पूजा गरेपछि मात्रै पुजारीहरूले खाना खान पाउँछन्।
यो मन्दिर राजाहरूको देवाली मनाउन ठाउँको रूपमा पनि कुनै बेला प्रख्यात थियो।
यो कालीदेवीको अर्थात चामुण्डादेवीको प्रतिमा स्थापना भएको मन्दिर हो। मन्दिर वरपर हरियाली छ। मन्दिर दुई नदीको दोभानमा छ।
मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताको मूर्ति पनि छन्। चामुण्डाको पश्चिममा चारहाते नरसिंही भगवतीको मूर्ति छ। शङ्ख, चक्र, गदा, कण्डी र अभय धारण गरेकी यी देवीको मुख सिंहीनी जस्तै छ।
त्यस्तै मन्दिरको आँगनको पश्चिमी चार किनारमा ७ रक्षिकाहरू र ६ मातृका इन्द्रायणी, वाराही, वैष्णवी, कुमारी, माहेश्वरी र ब्राह्मी छन्। गणेशको मुर्ति पनि त्यहिँ छ।
दशैंको नवरात्रिमा भक्तजनहरू हाँस, कुखुरा, राँगो, बोकाको बलि दिन्छन्। त्यो बाहेक हरेक साता मंगलबार र शनिबार पनि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ।
सन्तान प्राप्ति, धन प्राप्ति, मुद्दामामिलामा जीत, नोकरीमा पदोन्नती लगायतका कामना पूरा हुने विश्वासका साथ भक्तजन मन्दिर जान्छन्। यो मन्दिर राजाहरूको देवाली मनाउन ठाउँको रूपमा पनि कुनै बेला प्रख्यात थियो।
असोज १०, २०७९ सोमबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।