फ्राइडे रिलिज: पुरानै 'अवतार'सँग भिड्दै 'प्रेमगीत ३', सिङ्गल रिलिज जस्तै हुँदा कमाउने अवसर
काठमाडौं: नेपाली सिनेमाघरहरूमा आजबाट 'प्रेमगीत ३' प्रदर्शनमा आएको छ। हिन्दी र नेपाली गरी दुई भाषामा रिलिज हुन लागेको चलचित्र सेन्सर पास हुन नसक्दा आज नेपाली भर्सन मात्र रिलिज भएको छ।
तर अन्य बलिउड वा नेपाली फिल्मसँग नजुधेकाले सिङ्गल रिलिज जस्तै भएको प्रेमगीत ३ लाई कमाउने अवसर भने यथेष्ट छ। हुन त आजबाट हलिउड फिल्म 'अवतार' पनि रिलिज भएको छ। तर यो पुरानै फिल्म भएकाले दर्शकले चासो दिने सम्भावना कमै छ। त्यसमाथि केही मल्टिप्लेक्समा मात्र यो रिलिज भएको हो। सिङ्गल स्क्रिनमा प्रेमगीत ३ नै रिलिज भएको छ। यस्तै मोफसलका हलहरूमा पनि प्रेमगीत ३ ले कब्जा जमाउने छ।
'अवतार: द वे अफ वाटर' नामको सिक्वेलको रिलिजअघि प्रिक्वेल रिलिज गरिएको हो। अवतारको दोस्रो भाग डिसेम्बर १६ मा रिलिज हुँदैछ।
यता प्रेमगीत ३ भने पहिलो इण्डो-नेपाली फिल्म भनेर प्रचार गरिएको छ। यसको प्रचार शैलीले गर्दा नै फिल्म बहुप्रतीक्षित पनि बनेको छ। पिरियडिक विधाको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको अभिनय छ।
फिल्म प्रेम (प्रदीप) र गीत (कृष्टिना)को कथामा आधारित छ। प्रेमले राजयोग र प्रेमयोगको बीचमा परेर गरेको संघर्ष फिल्मको कथा हो।
फिल्मका निर्देशक स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेन हुन्। फिल्म दुई घण्टा पाँच मिनेट लामो छ।
असोज ७, २०७९ शुक्रबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।