कोरोना महामारीबीच लुम्बिनी प्रदेशका उद्योगमा ३७ अर्ब बढी लगानी, ७४ हजारभन्दा बढीलाई रोजगारी
बुटवल: पछिल्ला केही वर्ष कोरोना महामारीले उद्योग, व्यवसाय लगायतका विभिन्न आर्थिक गतिविधिलाई प्रभावित पारे पनि यही अवधिमा लुम्बिनी प्रदेशमा भने लघु, साना तथा घरेलु उद्योगमा ३७ अर्बभन्दा बढी लगानी भएको छ। प्रदेशका १२ जिल्लामा आर्थिक वर्ष ०७६/०७७ मा १२ अर्ब ४८ करोडभन्दा बढीको लगानीमा उद्योगहरू स्थापना हुँदा आर्थिक वर्ष ०७७/०७८ मा भने त्यसको दोब्बर अर्थात् २५ अर्ब ४६ करोड रुपैयाँ लद्यु, साना तथा घरेलु उद्योगमा लगानी भएको उद्योग विभागले जनाएको छ।
यो दुई वर्षमा उद्योगहरू दर्ता हुने क्रम समेत बढेको छ। आर्थिक वर्ष ०७६/०७७ मा लुम्बिनी प्रदेशमा मात्र सात हजार ७४३ उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७७/०७८ मा झण्डै दोब्बर अर्थात १३ हजार ६७७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।
आव २०७७/०७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगहरूको संख्या हालसम्मकै धेरै हो।
दर्ता भएका अधिकांश सेवामूलक उद्योगहरू छन्। आव ०७६/०७७ मा कुल आठ हजार ५०५ उद्यमीले उद्योगमा लगानी गर्दा २६ हजार २४४ जनाका लागि रोजगारी सिर्जना समेत भएको छ। आव ०७७/०७८ मा १४ हजार ९५३ जनाले उद्योगमा लगानी गर्दा ४८ हजार २०९ जनाका लागि रोजगारी सिर्जना भएको उद्योग विभागले जनाएको छ।
०७६/०७७ सबैभन्दा धेरै उद्योग रुपन्देहीमा दर्ता भए। एक हजार ३०५ उद्योग दर्ता हुँदा त्यसमा ३ अर्ब बढी लगानी भयो। उक्त लगानी एक हजार ३०५ जना उद्यमीले गरेका हुन्। जसबाट पाँच हजार ३४६ जनाका लागि रोजगारी सिर्जना भयो।
कपिलवस्तुमा एक हजार ४७ उद्योगहरू दर्ता भए। जसमा एक हजार २३२ जना उद्यमीले लगानी गर्दा दुई हजार ९३६ जनाले रोजगारी पाए। पाल्पामा ४०७ उद्योग दर्ता हुँदा ७२६ जनाले रोजगारी पाए।
अर्घाखाँचीमा मात्र २४१ उद्योग दर्ता भएका छन्। ३२६ उद्यमीले ती उद्योगमा एक अर्ब १६ करोड लगानी गरेका हुन्।
गुल्मीमा ५२२ उद्योग दर्ता भए। पश्चिम नवलपरासीमा पनि उद्योग दर्ता हुने क्रम बढ्दै गइरहेको छ। एक हजार १२१ उद्योग दर्ता हुँदा त्यसमा एक अर्ब ८० करोड रुपैयाँ लगानी भएको छ। ती उद्योगबाट चार हजार १७१ जनाले रोजगारी पाएका छन्।
रोल्पामा २३३ उद्योग दर्ता हुँदा दाङमा ७३१ उद्योगमा ८९८ उद्यमीले एक अर्ब बढी लगानी गरेका छन्। प्युठानमा १९४ उद्योग दर्ता भएका छन्। बाँकेमा एक हजार ४० उद्योग दर्ता हुँदा ती उद्योगमा २३ करोड ८२ लाख लगानी भएको छ।
नवलपरासी पश्चिमा मात्र आर्थिक वर्ष ०७७/०७८ मा ५ अर्ब बढी लगानी भएको छ। त्यहाँका उद्योगले नौ हजार १३२ जनालाई रोजगारी दिएका छन्।
बर्दियामा ८३५ उद्योग दर्ता हुँदा त्यसबाट दुई हजार २५ जनाले रोजगारी पाएका छन्। सबैभन्दा कम रुकुम पूर्वमा जम्मा ६७ वटा उद्योगमा ६ करोड लगानी भएको छ। ती उद्योगले २२५ जनालाई रोजगारी दिएको उद्योग विभागले जनाएको छ।
०७७/०७८ मा भने उद्योग दर्तादेखि लगानीसम्मै दोब्बर बढेको छ। यस अवधिमा सबैभन्दा बढी उद्योग बाँकेमा खुलेका छन्। बाँकेमा दुई हजार ३४१ उद्योग दर्ता हुँदा त्यसमा जम्मा लगानी भने ७५ करोड भएको छ।
दुई हजार ३४१ जना उद्यमीले दुई हजार ३४१ उद्योगमा लगानी गर्दा जम्मा आठ हजार ९६१ जनाले रोजगारी पाएका छन्।
दाङमा दुई हजार १८४ उद्योग दर्ता हुँदा नवलपरासी पश्चिममा दुई हजार १६७ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्क छ। यी उद्योगमा दुई हजार ४५४ उद्यमीको चार अर्ब ४८ करोड लगानी छ। आठ हजार १७७ जनाले रोजगारी पाएका छन्।
नवलपरासी पश्चिमा मात्र आर्थिक वर्ष ०७७/०७८ मा ५ अर्ब बढी लगानी भएको छ। त्यहाँका उद्योगले नौ हजार १३२ जनालाई रोजगारी दिएका छन्।
रुपन्देहीमा एक हजार ३९४ उद्योगमा चार अर्ब बढी लगानी भएको छ। यी उद्योगमा पाँच हजार ९९५ जनाले रोजगारी पाएका छन्।
कपिलवस्तुमा एक हजार २९१ उद्योग दर्ता हुँदा पाल्पामा ६१६ उद्योग दर्ता भएका छन्। अर्घाखाँचीमा ४२७ उद्योग दर्ता हुँदा त्यहाँका उद्योगले चार अर्ब ७१ करोड लगानी गरेका छन्।
रोल्पामा ४८६ उद्योग दर्ता हुँदा ५९ करोड लगानी भएको छ। प्युठानमा ५१७ उद्योगमा ६७ करोड, बर्दियामा एक हजार २४९ उद्योगमा एक अर्ब ७४ करोड लगानी भएको छ। ती उद्योगबाट तीन हजार ६२७ जनाले रोजगारी पाएका छन्।
गुल्मीमा ४८८ उद्योगमा ३७ करोड लगानी भएको छ। रुकुम पूर्वमा २१७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।
कस्ता उद्योग स्थापना भए?
कोभिडको समयमा सबैभन्दा बढी उद्योग कृषि तथा वनजन्यमा दर्ता भएको देखिएको छ। ०७६/०७७ र ०७७/०७८ मा कृषि तथा वनजन्य वर्गमा १२ हजार ८९ उद्योग दर्ता भएको विभागको तथ्याङ्क छ।
उनले अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्नको चरणका बेला उद्योगीहरूले नेपालबाट उत्पादित वस्तुहरू कार्गोमार्फत विदेशमा निर्यात गर्ने उद्देश्यले पनि उद्योगहरूमा लगानी बढाएको बताए।
यी दुई वर्षमा उत्पादनमूलक उद्योग दर्ता दुई हजार ५६६ हुँदा पर्यटनमा दुई हजार ३९८ उद्योग दर्ता भएका छन्।
सेवातर्फ चार हजार ४६० उद्योग दर्ता हुँदा पूर्वाधारतर्फ जम्मा ९६ उद्योग दर्ता भएका छन्।
सूचना तथा प्रविधितर्फ १८ उद्योग दर्ता हुँदा खनिजमा जम्मा एउटा मात्र उद्योग दर्ता भएको छ। उक्त उद्योग आर्थिक वर्ष ०७७/०७८ मा रोल्पामा भएको हो। दुई वर्षमा ऊर्जातर्फ भने कुनै पनि उद्योग दर्ता भएका छैनन्।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख रामप्रसाद ज्ञवालीले जिल्लामा उद्योगका लागि आवश्यक पूर्वाधार तयार भएको र लगानी सुरक्षित देखेर नै उद्यमीहरूले लगानी गरेको बताए।
‘साना लद्युदेखि ठूला कर्पोरेट उद्योगहरूमा यहाँ लगानी पछिल्लो समय बढी रहेका छ। यस कारणले पनि रुपन्देही औद्योगिक विकासमा फड्को मारेको छ भन्न सकिन्छ’, उनले भने।
ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न हुने बेला उद्योगीहरूले यहाँ उत्पादित वस्तु निर्यात गर्ने उद्देश्यले पनि उद्योगमा लगानी बढाएका हुन्। यसबाहेक बेलहिया नाका र मोतिपुरमा निर्माणाधीन औद्योगिक क्षेत्रको विकासलाई समेत ध्यानमा राखेर रुपन्देहीमा उद्योगहरू स्थापना भएको उनले बताए।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले लोडसेडिङको अन्त्यसँगै जिल्लामा औद्योगिक वातावरण बनेकाले उद्योगहरूमा लगानी बढ्दै गएको बताए।
के भन्छन् उद्योगीहरू?
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशमा उद्योगीहरूले लगानी सुरक्षित देखेकाले लगानी बढाइरहेको बताए। नाकाबन्दी, कोरोना महामारीको अवस्थामा पनि रुपन्देही जिल्लासँगै अन्य नाकाबाट भारतसँग सहज कारोबार भएकाले उद्योगीहरूले आयात निर्यातको सहजतालाई हेरेर लगानी गरिरहेको बताए।
‘ठूला उद्योग होइनन्, लघु साना उद्योगहरूमा लगानी गर्नेहरूको संख्या बढेको छ। यसमा धेरै जना विदेशबाट फर्केर आएकाहरू समेत छन्’
‘पर्याप्त विजुलीको उपलब्धतासँगै औद्योगिक कोरिडोर, विमानस्थल, बुटवल सभा केन्द्र निर्माणले पनि उद्योगीहरूले यहाँ लगानी गर्न उत्साहित भएका हुन्’, उनले भने।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले रुपन्देही जिल्लामा भएका पूर्वाधार विकास र औद्योगिक विकासलाई हेरेर व्यवसायीले उद्योगमा धमाधम लगानी बढाएको बताए।
पछिल्लो समय भैरहवा–परासी क्षेत्रमा उद्योगहरू सञ्चालन हुने क्रम बढेको भन्दै उनले छिमेकी देश भारतसँगको कारोबार सहज हुने र नेपालकै मध्यविन्दुमा रहेको रुपन्देहीबाट अन्य जिल्लामा सामान ढुवानी गर्न समेत सहज हुने भएकाले रुपन्देहीमा उद्योगहरूको स्थापना हुने क्रम बढेको छ।
त्यसबाहेक कपिलवस्तु, दाङ, नवलपरासी क्षेत्रमा पनि औद्योगिक विकास बढ्दै जाँदा जग्गाको उपलब्धताका कारणले त्यहाँ उद्योगहरू स्थापना हुने क्रम बढेको उनले बताए।
उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिह बुढाथोकीले दाङमा सबै उद्योगहरू घरेलुमा दर्ता हुने गरेको भन्दै यसले धेरैलाई स्वरोजगार बनाएको बताए।
‘ठूला उद्योग होइनन्, लघु साना उद्योगहरूमा लगानी गर्नेहरूको संख्या बढेको छ। यसमा धेरै जना विदेशबाट फर्केर आएकाहरू समेत छन्’, उनले भने।
रोल्पा उद्योग वाणिज्य संघका अध्यक्षका अध्यक्ष केशवकुमार आचार्यले रोल्पामा लघु र घरेलु उद्योगमा लगानी भइरहेको बताए। त्यहाँबाट उत्पादित वस्तुहरू लुम्बिनी प्रदेशकै दाङ, नेपालगञ्ज, बुटवलसम्म आउने गरेको उनको भनाइ छ।
असोज ७, २०७९ शुक्रबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।