एक सय देशमा पुगेर हसाएका थिए राजुले, ५० रुपैयाँ पारिश्रमिकबाट २० करोड भारुको मालिकसम्म
एजेन्सी: बुधबार निधन भएका चर्चित कमेडियन राजु श्रीवास्तवले २९ वर्ष कमेडी क्षेत्रमा काम गरे। जतिञ्जेल काम गरे, राज गरे। सबैलाई हसाए।
तर २९ वर्षको करियर हिजो ब्रेक लाग्यो। हृदयघात भएका कारण अस्पताल भर्ना भएका राजु झण्डै डेढ महिनापछि अस्ताए।
यसबीच राजुले भारत, नेपालसहित दक्षिण एसियाली मुलुकमा ठूलो फ्यान फलोइङ कमाए। अरू त अरू उनले एक सय देशमा आफ्नो प्रस्तुति दिए। जीवनभरमा करिब चार हजार स्टेज पफर्मेन्स दिए।
सानैदेखि अमिताभ बच्चन जस्तो कलाकार बन्न चाहने राजु आफ्नो सपना पूरा गर्न कानपुरबाट मुम्बई छिरेका थिए। मुम्बईमा उनले अटो चलाएर खर्च धाने। आफ्ना प्यासेन्जर्सलाई हसाउँदै हसाउँदै यात्रा गराउँथे उनी।
यस्तैमा राजुले एकदिन आफ्नो पहिलो शो पाए। त्यहाँ प्रस्तुति दिएबापत उनले भारु ५० पाए। त्यहाँबाट सुरु भएको उनको यात्रा २० करोड भारुको सम्पत्तिको मालिकसम्म पुग्यो।
यसबीच उनले फिल्महरूमा पनि काम गरे। करिब २० वटा चलचित्रमा राम्रै भूमिका निभाए।
असोज ६, २०७९ बिहीबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।