प्रेम गीत-३ विवाद : बोर्ड अध्यक्ष केसीलाई सञ्चार मन्त्रालयले बोलायो

प्रेम गीत-३ विवाद : बोर्ड अध्यक्ष केसीलाई सञ्चार मन्त्रालयले बोलायो

काठमाडौँ : हिन्दी भर्सन र नेपाली भर्सन एकै दिन नेपालमा रिलिज गर्ने निर्णय भएदेखि नै विवादमा तानिइरहेको फिल्म ‘प्रेम गीत ३’को रिलिज डेट नजिक आइसक्दा पनि विवाद रोकिएको छैन। पहिलो इन्डो नेपाल फिल्म भनेर प्रचार गरिएको फिल्मको हिन्दी भर्सनले विदेशी फिल्मको श्रेणी पाएदेखि यसको कलाकार र निर्माण टिम चलचित्र विकास बोर्डका पदाधिकारीविरुद्ध मिडिया वारमै उत्रिएका छन्।

बुधवार बोर्डले प्रेम गीत ३ को हिन्दी भर्सनलाई नेपालमा रिलिज गराउनु अगाडि सेन्सर गराउन सेन्सर बोर्डलाई सिफारिस गरे लगत्तै बोर्ड अध्यक्ष भुवन केसीलाई सञ्चार मन्त्रालयले बोलाएको छ। बिहीबार केसीलाई सो फिल्मलाई किन विदेशी चलचित्रको श्रेणीमा राखेको भनेर जानकारी लिन बोलाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

फिल्मका नेपाल वितरक मनोज राठीले नेपालीले निर्माण गरेको फिल्मलाई विदेशी फिल्मको श्रेणीमा राखेको भन्दै मन्त्रालयमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा केसीलाई जानकारीका लागि मन्त्रालयमा बोलाइएको हो।

फिल्म आगामी शुक्रवार वर्ड वाइड रिलिज हुँदै छ।

असोज ५, २०७९ बुधबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।