प्रेम गीत-३ को प्रड्युसर सन्तोष सेन कि भारतीय नागरिक सुवास काले ?
काठमाडौँ : नेपाली र हिन्दी भाषामा बनेको नेपाली फिल्म ‘प्रेम गीत ३’को हिन्दी संस्करणले पहिलो दिन भारतमा पाँच करोडको ग्रस कलेक्सन गर्ने फिल्मसम्बन्धी एक पोर्टले दाबी गरेका छन्। विश्वभरका १२ सय पर्दाबाट एकै दिन रिलिजको तयारी भएको फिल्मले पहिलो दिनमै साढे पाँच करोडको व्यापार गर्ने बलिउड हङ्गामाको दाबी छ।
सो साइटमा राखिएको दर्शकहरूको रिभ्युमा प्रेम गीत-३ ले ८३ अङ्कसहित ग्रिन कलर पाएको छ। फिल्म नेपालसँगै भारत, बेलायत, युएई, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरियामा समेत रिलिज हुँदैछ।
नेपालमा प्रेम गीत-३ डेढ सय हलमा लाग्दै छ। भारतमा पाँच सय पर्दाबाट फिल्म रिलिजको तयारी छ।
निर्माण टिमले साढे तीन करोड नेपाली लगानी रहेको बताइरहँदा बलिउड हङ्गामा भने यसको निर्माण लागत ११ करोड भारतीय रुपैंया रहेको उल्लेख छ। भारतमा यो फिल्मको एडभान्स बुकिङ राम्रो भइरहेको समाचारमा दाबी गरिएको छ। भारतमा पहिलो दिनका लागि ८० प्रतिशत टिकट बुक भइसकेको दाबी गरिएको छ। यही आधारमा ओपनिङ भए पहिलो दिनमै भारतमा २ करोड भारुको ग्रस कलेक्सन हुने उसको प्रक्षेपण रहेको छ।
सो समाचारमा फिल्मको प्रड्युसरको रूपमा सुवास कालेको नाम उल्लेख छ। जबकि नेपालमा सन्तोष सेनले आफूलाई सो फिल्मको निर्देशक र प्रड्युसर रहेको बताइँदै आएको छ।
पछिल्लो समय प्रेम गीत-३ को हिन्दी भर्सनलाई लिएर नेपालमा विवाद भइरहेको छ। निर्माण टिमले नेपालमा नेपालीले बनाएको फिल्म हिन्दी भाषामा डब हुँदैमा भारतीय नहुने भन्दै नेपाली फिल्म सरह सुविधाको माग गरिरहेका छन्।
चलचित्र विकास बोर्डले भने हिन्दीमा डब गर्ने लगायतका पक्षमा बोर्डबाट स्वीकृति नलिएको र हिन्दी भर्सनको विश्वभर वितरणको अधिकार भारतीय कम्पनीको भएको भन्दै नेपालमा हिन्दी भर्सन विदेशी फिल्मको श्रेणीमा रिलिज हुने बताउँदै आएको छ।
असोज ५, २०७९ बुधबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।