'प्रेम गीत-३ को हिन्दी भर्सनले नेपाली फिल्म भएको कागज पुर्‍याउनुपर्‍यो, अफवाह फैलाउँदै हिड्नुभएन'

'प्रेम गीत-३ को हिन्दी भर्सनले नेपाली फिल्म भएको कागज पुर्‍याउनुपर्‍यो, अफवाह फैलाउँदै हिड्नुभएन'

काठमाडौंः यतिबेला फिल्म ‘प्रेम गीत ३’ र चलचित्र विकास बोर्डबारे विवाद चलिरहेको छ। सामाजिक सञ्जालमा को सही, को गलत भन्नेबारे वहस चलिरहेकै छ। केही शुभचिन्तक चलिरहेको वहस छाडेर व्यक्तिगत आक्षेपसमेत उत्रिसकेका छन्।

चलचित्र निर्माण टोली बोलिरहे पनि बोर्ड भने यो विषयमा मौन देखिएको छ। बोर्डको आधिकारिक धारणा के हो त? यसै बिषयमा चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरञ्जिवी गुरागाईंलाई उकेराका पाँच प्रश्नः

चलचित्र विकास बोर्ड र ‘प्रेम गीत ३’ को लफडा के हो ?
नेपाल चलचित्र विकास बोर्ड र चलचित्र ‘प्रेम गीत ३’ बीच कुनै पनि विवाद छैन। सामाजिक सञ्जालमा आएका कृुराहरू अध्यक्ष भुवन केसीसँग जोडिएर आएका विषय हुन्। जसमा उहाँको व्यक्तिगत कुराहरू उल्लेख गरिएको छ। भुवन केसी एक व्यक्ति पनि हो। उहाँको व्यक्तिगत कुरा उहासँगै सोध्दा राम्रो होला। फिल्मको कुरामा बोर्डसँग कुनै लफडा छैन।

बोर्ड अध्यक्षले आफ्नो छोरा अनमोल केसीभन्दा बढी चर्चित नहोस् भनेर नायक प्रदीप खड्कालाई नियतवस् हेर्दा ‘प्रेम गीत ३’ लाई मर्का परेको भन्ने चर्चा छ नि?
अध्यक्षज्यू यो पदमा आउनुभन्दा अघिदेखि हामी बोर्डमा छौं। उहाँहरूका यी र यस्ता कुराहरू छन् भने त्यो उहाँको व्यक्तिगत कुरा भयो। यदि बोर्डकै कुरा गर्ने हो भने हाम्रा लागि सबै नेपाली फिल्म बराबर हुन्। कानुनअनुसार कागजात पुर्याएर काम हुनुपर्यो। हामी कुनै फिल्मलाई काखा, कुनैलाई पाखा गर्दैनौं। 

नेपाली फिल्मको दायरा फराकिलो हुँदैछ। भारत आफैँमा ठूलो बजार हो सिनेमाको लागि। नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्छु भन्ने उद्देश्य बोकेको फिल्मले नेपाली फिल्मलाई नै विदेशी फिल्म बराबरको कर लगाउनु जायज हो?
यहि कुरा मिडियामा बुझाउन बोर्ड चुक्यो जस्तो लाग्छ। हामीले नेपाली फिल्मलाई विदेशी फिल्म बराबरको कर लगाएका हैनौं। पक्रियामा नगएकाले उहाँहरूले विदेशी फिल्म बराबरको कर तिर्नुपर्ने भएको हो। नेपाली फिल्म अरू भाषामा डब भएको यो पहिलो घटना हैन। हामीकहाँ कतिधेरै राष्ट्रिय भाषाका फिल्महरू राष्ट्र भाषामा स्वरांकन भएका छन्। कति धेरै राष्ट्र भाषाका फिल्महरू राष्ट्रिय भाषामा स्वरांकन भएका छन्।

नेपाली भाषाबाट नेवारी, भोजपुरी लगायतका भाषामा डब भइरहेका छन्। भोजपुरी नेवारी भाषाहरूबाट नेपाली भाषामा डब भइरहेका छन्। तर, यसका लागि पनि प्रक्रिया छ। विकास बोर्डबाट स्वरांकन गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ। यदि नेपाली फिल्म हिन्दी भाषामै स्वरांकन हुने हो भने पनि त्यसमा नेपाली कम्पनी हुनुपर्यो। नेपालकै कलाकारहरू हुनुपर्यो। यो कुरा कागजमा अनुमति लिएर काम थाल्नपर्यो।

‘प्रेम गीत ३’ को हिन्दी डब किन विदेशी भाषाको फिल्म हुनगयो भन्ने कुरा पनि बुझ्नुपर्यो। विदेशी कम्पनीले यसको अधिकार लिएको छ। कलाकारहरूको स्वरदेखि सम्पादनसम्म हरेक कुरा विदेशी छ। यदि निर्माण टोलीले यो कुरा बोर्डबाट अनुमति लिएर गरेको भए केहि समस्या हुने थिएन। यो फिल्म नेपाली भाषाको फिल्म नै हुने थियो। तर, बोर्डसँग कुनै अनुमति नलिएको र सबै काम विदेशमै भएकाले यो विदेशी भाषाको फिल्म हुनगयो। 

बोर्ड सधैं नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न तयारीका साथ बसेको छ। यदि ‘प्रेम गीत ३’ नेपाली भाषामै सबटाइटलको प्रयोग गर्दै विदेशमा प्रर्दशन हुन्थ्यो भने हामी बोर्डले नै त्यसको प्रतिनिधित्त्व गर्थ्यौँ। तर, यो त विदेशी भाषामा डब भएर नेपालमा प्रर्दशन गर्न खोजिँदैछ। यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दा पनि हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन लागेजस्तो भयो। आज एउटा फिल्मलाई छाड्दा भोलि नजिर बन्ला भन्ने डर भयो। त्यसैले यसमा ‘प्रेम गीत ३’ सँग बोर्डको कुनै दुस्मनी हैन। अरुले जे प्रक्रियामा काम गरिरहेका छन्, ‘प्रेम गीत ३’ का लागि पनि कानून एकै हो।

यो भन्दा अघि ‘केजीएफ–२’ भन्ने हिन्दी फिल्म रातभर चल्दा पनि बोर्डले केहि गर्न सकेन। अहिले नेपाली फिल्मलाई ८ बजेसम्म मात्रै सो टाइम राख भन्नुभएको छ। यसको कारण के हो?
हो, केजीएफ को समयमा मध्यरातमा समेत हल खुल्यो। रातको समयमा हो–हल्ला भएको भन्दै धेरैले कम्प्लेन गरे। सबैतिरबाट विरोध आयो। तर, बोर्डले यसबारे केहि नियम बनाएको थिएन। केजीएफ भन्दा पहिले यस्तो अवस्था सिर्जनासमेत भएको थिएन।

केजीएफकै कारण हलको सो टाइम सम्बन्धी नियम बनाउनुपर्ने देखियो। यो नियम केजीएफको प्रर्दशनकै समयमा बनिसकेको हो। लागू पनि भइसकेको हो। तर, केजीएफ पछिका फिल्मले फेरि त्यस्तो समय हलमा फर्काउन सकेन। त्यसैले यो नियम बने पनि कार्यन्वयनमा आएन।

अहिले सोचेजस्तो ‘प्रेम गीत ३’ का लागि मात्रै ८ बजेसम्म सो टाइम राख्न पाउने नियम बनाएको हैन। यो नियम अघिल्ला फिल्महरूमै बनिसकेको हो। विदेशी फिल्मका लागि समेत अहिले केहि कागजपत्र थप गरिएका छन्। यो बिर्सन भएन कि, लाइगरको कागजात नपुग्दा हामीले सेन्सर रोकेका थियौं। जब प्रक्रिया पूरा भयो तब मात्रै सेन्सर भयो।

भित्रको कुरा एउटा, बाहिरको कुरा अर्को छ। कसको कुरा पत्याउने त हामीले?
कसको कुरा पत्याउने, कसको नपत्याउने, त्यो त तपाईंहरूको कुरा। तर, बाहिर सामाजिक सञ्जालमा चर्चा भएजस्तो व्यक्तिगत कारणबारे बोर्डलाई थाहा छैन। त्यस्ता कुरामा चासो पनि छैन। फिल्म निर्माण टोलीले विदेशी भाषामा बनेको फिल्म बराबर करको बारेमा आपत्ति जनाएको हो भने बोर्डसँग कुरा गर्नुपर्यो। बोर्डले भनेअनुसार प्रक्रियागत रूपमा कागजपत्र पुर्याउनुपर्यो। बाहिर अनेक प्रचारबाजी र अफवाह फैलाउँदै हिड्नुभएन। उहाँहरूको लागि बोर्डको अध्यक्ष समस्या हो भने उहाँसँग कुरा गर्नुपर्यो, बोर्डसँग समस्या हो भने हामीसँग प्रक्रियागत रूपमै कुरा गर्नुपर्यो।

असोज ४, २०७९ मंगलबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।