आफू-आफू भिड्दै फिल्मकर्मी: सरोज खनालले अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने थिति बसालेको सन्तोष सेनको आरोप

आफू-आफू भिड्दै फिल्मकर्मी: सरोज खनालले अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने थिति बसालेको सन्तोष सेनको आरोप

काठमाडौं: आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचिच 'प्रेमगीत ३' यतिबेला विवादमाथि विवादमा परिरहेको छ। हिन्दी डबलाई पनि नेपाली फिल्म नै मानेर नेपालमा प्रदर्शन गर्न पाउनुपर्ने र कर छुट हुनुपर्ने माग फिल्म युनिटको छ।

यता हिन्दी डब फिल्म हिन्दी वितरकले नेपाल भित्र्याएकाले फिल्मलाई विदेशी फिल्मको क्याटेगोरीमा राखेर चलचित्र विकास बोर्डले अन्य विदेशी चलचित्रलाई जस्तै अतिरिक्त कर लिने भएको छ। यस्तै राति ८ बजेपछिको शो टाइम पनि नदिने भएको छ। त्यसमा विकास बोर्ड र निर्माता सङ्घले नसघाएको भन्दै अभिनेता प्रदीप खड्काले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामै मागे।

यही विवादमा फिल्मकर्मीहरू पनि दुई धारमा विभाजित भएका छन्। एकथरीले फिल्म युनिटको समर्थनमा हिन्दी डब पनि नेपाली फिल्म नै हो भनेका छन् भने अर्काथरीले यसलाई फिल्मका कलाकार प्रदीपले 'लाइगर' को प्रदर्शनको बेला देखाएको आक्रमक व्यवहारसँग तुलना गर्दै दुई जिब्रेसम्म भनेका छन्।

यही विवाद कलाकार तथा विकास बोर्डका अध्यक्ष भुवन केसीसँग पनि जोडिएको छ। भुवनका छोरा कलाकार अनमोल केसी नेपालमा सुपर स्टारडम भएका कलाकार हुन्। अहिले अनमोलको साटो प्रदीपको स्टारडम बढेको र प्रेमगीतको सफलताले अनमोललाई छायामा पार्ने भन्दै भुवन केसीले प्रेमगीत ३ र प्रदीपलाई असफल बनाउन यो तिकडम रचेको भन्दै बजारमा 'कन्सपिरेसी थिएरी' पनि चलिरहेको छ।

यहीबीचमा अर्का कलाकार सरोज खनाल पनि जोडिए। उनले एक अन्तर्वार्तामा प्रदीप जस्तो स्टार कलाकारले आक्रोशमा आएर भुवन केसी जस्तो पुराना कलाकारको राजीनामा माग्न नहुने बताएका थिए। प्रदीपले भुवन जस्तो सिनियरको सम्मान नगरेको सरोजको आशय थियो।

अझ सन्तोष सेनले प्रेमगीतको शुटिङ हुँदा प्रदीप खड्काले काम गर्न नसक्ने भन्दाभन्दै आफूले काम गर्न दिनुपर्छ भनेकाले प्रदीप यो तहको स्टार कलाकार भएको भन्दै अभिव्यक्ति दिए।

यता भुवन केसी आफ्नो फिल्मको बाधा बनिरहेको ठान्ने सन्तोष सेनले मौका पाइहाले। उनी पनि जाइलागे सरोजमाथि।

उनले फेसबुकमा सो अन्तर्वार्ताको भिडियो हालेर पोस्ट गर्दै लेखे, 'अमेरिकामा लुक्न ट्रेण्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिइनँ।'

सन्तोषले उक्त पोस्टमार्फत सरोजले लगाएको आरोपको पनि खण्डन गर्दै भने, 'प्रेमगीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिले भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईंकै निर्देशकको भनाइ हो। अलि सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला। स्वयं प्रदीपलाईसम्म यो कुरा सुन्दा लाज भयो होला।'

सन्तोषका अनुसार 'रजतपट' कार्यक्रममा आफूले सरोज खनाललाई नरोजेका कारण उनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले थप आक्रोश मिश्रित भावमा लेखेका छन्, 'तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो।आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउदैनन्।'

असोज ४, २०७९ मंगलबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।