पाकिस्तानमा बाढीमा परी थप १५ जनाको मृत्यु, हालसम्म साढे १२ हजारभन्दा बढी घाइते

 पाकिस्तानमा बाढीमा परी थप १५ जनाको मृत्यु, हालसम्म साढे १२ हजारभन्दा बढी घाइते

एजेन्सी: पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी सिन्ध प्रान्तमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना महिला छन्। 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन्।

बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार ६३२ चौपाया मरेका छन्। बाढीले १२ हजार ७१६ किलोमिटर सडक र ३७४ वटा पुलमा क्षति भएको छ।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन्।

असोज ४, २०७९ मंगलबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।