भारतीय अपराधी प्रयोग गरेर एमालेको नेता आलमको हत्या गराएका एमालेकै नेता कुशवाहालाई राष्ट्रपतिको कैद माफ

भारतीय अपराधी प्रयोग गरेर एमालेको नेता आलमको हत्या गराएका एमालेकै नेता कुशवाहालाई राष्ट्रपतिको कैद माफ

वीरगन्ज : निर्वाचनमा पार्टीको तर्फबाट टिकट नपाएको भन्दै भारतीय आपराधिक समूह प्रयोग गरेर आफ्नै पार्टीका नेता महमुद आलमको हत्यामा जन्मकैदको सजाय पाएका रामचन्द्र प्यासी कुशवाहालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रपतिबाट बाँकी कैद माफ गराएर कारागार मुक्त गराएको छ।

संविधान दिवसको मौका पारेर सरकारले ६ सय ८१ जनाको कैद छुट र २१ जनाको कैद माफ गरेको थियो। कैद छुट पाउने ६ सय ८१ को सूचीमा कुशवाहा समेत परे। उनी सोमबार वीरगन्ज कारागारबाट मुक्त भए।

एमालेबाट समानुपातिक सूचीमा परेर संविधान सभाको सभासद् भएका उनको नाम २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा काटियो। उनी प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न खोजेको बारा क्षेत्र नं. ३ बाट आलम उम्मेदवार बनेपछि उनले भारतीय तीन जना सार्पसुटर प्रयोग गरेर हत्या गराएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

२०७० कात्तिक १० मा पक्राउ परेका उनलाई जिल्ला अदालत बाराले २०७३ वैशाख ५ मा १० वर्षको कैद सजाए सुनाएको थियो। फैसलाविरुद्ध उच्च अदालत वीरगन्जमा प्यासी गएपछि १० वर्ष जन्मकैदमा बदलिएको थियो।

आलम हत्यामा उनीसँगै मोहम्मद सहब भन्ने विपिन यादव, अतीक खान भन्ने अशोक श्रीवास्तव, वर्मा भन्ने राजु श्रीवास्तव समेत पक्राउ परेका थिए। उनीहरूलाई अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो।

हत्यामा प्रयोग भएका मोटरसाइकल चालक मनोज, रवि पाण्डे भन्ने राजेश मिश्रलाई १५ वर्ष कैद सजाय भएको थियो। उच्चले उनलाई पनि आजीवन कैद सुनाएको थियो। निर्वाचनको तयारीकै क्रममा रहेका बेला २०७० असोज १७ मा आलम मारिएका थिए। बाराको लिपनीमाल ४ कावासोती राईस मिल नजिक उनीमाथि गोली प्रहार भएको थियो।

पक्राउताका सेतो धर्के सर्टमा सहयोगीसहित कुशवाहा।

बाराको लिपनीमाल–४ स्थित कावासोती राइसमिलबाट निस्कँदै गर्दा आलमलाई बिहान साढे ११ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए। भारतीय नम्बर प्लेटमा आएका ती व्यक्तिमध्ये एक जनाले हात मिलाउने क्रममा आलमको टाउकोमा गोली हानेर त्यही मोटरसाइकलमा भागेका थिए।

उपचारका क्रममा ८ दिनपछि उनको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको थियो। भूमिगत शैलीमा सशस्त्र गतिविधि गरिरहेका मधेस मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस) ले संयुक्त विज्ञप्ति जारी गरेर निर्वाचनको विरोध स्वरूप आलमलाई गोली हानेको दाबी गरेका थिए।

सोमबार रिहा भएपछि परिवार र समर्थकसात कुशवाहा।

जिल्लाले मात्र यसको अनुसन्धान गर्न अप्ठेरो भएपछि केन्द्रका सिआइबीको टोलीले अनुसन्धान गरेको थियो। ब्युरोसहितको अनुसन्धान टोलीले आलमसँग नियमित सम्पर्कमा रहेको टेलिफोन नम्बर, घटनाको दिन सम्पर्क भएका नम्बर र घटनाको जिम्मेवारी लिने सङ्गठनका राजन प्रताप र अर्जुन सिंहसँग सम्पर्कमा देखिएका नम्बरको अनुसन्धानको आधारमा कुशवाहासम्म पुग्न सकेको थियो।

ब्युरोले सार्वजनिक गरेको अनुसन्धान विवरणमा आलम हत्याको योजना दुबईमा बनेको र प्यासीले तीन जना भारतीय सार्पसुटरको प्रयोग गरेर उनको हत्या गराएको दाबी गरियो। तर ती तीन जना सार्पसुटर कहिल्यै पक्राउ परेनन्।

असोज ३, २०७९ सोमबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।