बुटवलमा मनाइयो संविधान दिवस, ६१ जनालाई विभूषित गर्ने घोषणा
बुटवलः आज असोज ३, संविधान दिवस। लुम्बिनी प्रदेशको मुकाम बुटवलमा पनि विशेष समारोहको आयोजना गरेर मनाइएको छ।
आठौं संविधान दिवसको अबसरमा आयोजना भएको विशेष समारोहअघि राजमार्ग चौराहबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न झाँकी, नेपाल प्रहरी, शसस्त्र प्रहरीको ब्यान्ड बाजासहितको प्रभातफेरी बुटवल मण्डपमा रहेको बुटवल अन्तर्राष्ट्रिय सभा हलमा पुगेर विशेष समारोहमा परिणत भयो।
समारोहमा मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले हरेक नागरिकका अधिकारलाई सुनिश्चित गर्दै गएको बताए। कार्यक्रममा सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ।
विभूषित हुनेहरूलाई पदक भने प्रदेश स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ। संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएकाे भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको छ।
त्यसैगरि बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिनेछ।
प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गर्ने घोषणा भएको छ।
त्यसैगरि समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरिएको छ। प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरिने आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १÷१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरि ६१ जनालाई विभूषित गरिने मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिए।
असोज ३, २०७९ सोमबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।