वरिष्ठ वाद्यवाधक तथा संगीतकार शुभबहादुरको निधन

वरिष्ठ वाद्यवाधक तथा संगीतकार शुभबहादुरको निधन

काठमाडौं: वरिष्ठ वाद्यवाधक तथा संगीतकार शुभबहादुर सुनामको निधन भएको छ। सुनामको आज बिहान पौने पाँच बजे सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो।

सुनाम मिर्गौला रोगबाट पनि पीडित थिए। उनी केही समयदेखि डायलायसिस गराउँदै आएका थिए। उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव केही बेर आर्यघाटमा नै राखिने भएको छ।

वरिष्ठ गायक दीप श्रेष्ठले गाएको 'हुँ यात्री' बोलको गीत सुनामले नै कम्पोज गरेका हुन्। यस्तै तारा देवीले गाएको 'फूलै फूलको मौसम तिमीलाई' पनि सुनामकै कम्पोजिशन हो। सुक्मित गुरुङ र मदन सिंहले गाएको 'रेलीमाई रेलीमाई' बोलको गीत पनि उनकै संगीतमा बनेको हो।

त्यसबाहेक ७४ वर्षीय सुनामले रेडियो नेपालमा छँदा थुप्रै कालजयी गीतमा स्याक्सोफोन बजाएका थिए।

गायक दीप श्रेष्ठ सुनामलाई बहुप्रतिभाशाली व्यक्तिका रूपमा चिन्छन्। सुनाम प्रायः सबै बाजा बजाउने र एकदमै राम्रो एरेन्जर भएको गायक श्रेष्ठ बताउँछन्।

'उहाँको कम्पोजिशन धेरैले गाएको छन्। फ्लेक्जिबल मान्छे, मिलनसार। सेनाको ठूलो पदमा हुँदा पनि उहाँ सबै जनासँग नम्र भएर बोल्नुहुन्थ्यो', गायक श्रेष्ठले उकेरासँग भने, 'ब्यारेकमा खाना खान बोलाउनुहुन्थ्यो, नयाँ नयाँ कम्पोजिशन सुनाउनुहुन्थ्यो।'

सुनामसँग आफूले धेरै कुरा सिकेको गायक श्रेष्ठको भनाइ छ। उनी भन्छन्, 'धेरै कुरा सिकेँ उहाँसँग लागेर। उहाँले गीतहरूमा यो कर्डस् पनि हाल्नु न त। यो नराख्नू भनेर सुझाव पनि दिनुहुन्थ्यो।'

सुनामले आफ्नो धेरै गीतमा स्याक्सोफोन बजाएको उनी बताउँछन्। 'भायोलिन बजाउनुहुन्थ्यो, पियानो बजाउनुहुन्थ्यो। स्याक्सोफोन चाहिँ उहाँको एकदमै राम्रो। उहाँको ब्लोइङ एकदमै राम्रो। त्यतिको ब्लोइङ गर्ने अहिलेसम्म निस्केको छैन नेपालमा', गायक श्रेष्ठले भने।

यस्तै गायक शिव परियारले पनि सुनामको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै उनी नेपाली सुगम संगीतको एउटा सिङ्गो इतिहास भएको बताएका छन्। उनले सुनामलाई नेपाली अर्केष्ट्रा संगीतको सम्वाहक भनेका छन्।

यस्तै अन्य थुप्रै गायक संगीतकारले सुनामको निधनमा दुःख व्यक्त गरेका छन्।

असोज ३, २०७९ सोमबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।